• १२ मंसिर २०८१, बुधबार

धार्मिक स्थल जोड्न सोह्र सय सिँढी

blog

बनेपा समाचारदाता 

काभ्रेपलाञ्चोक, माघ २५ गते । पर्यापर्यटनको विकासका साथै चण्डेश्वरी मन्दिर र गोसाइँस्थान दुई ठूला धार्मिक स्थललाई जोड्ने उद्देश्यले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–५ स्थित चण्डेश्वरी मन्दिरदेखि गोसाइँस्थानसम्म सोह्र सय सिँढी निर्माण गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र बनेपा नगरपालिकाको संयुक्त लगानीमा आर्थिक वर्ष २०७७/७८ बाट सिँढी निर्माण सुरु गरिएको हो । 

२०७८ असार २ गतेबाट सुरु भएको सोह्र सय सिढी निर्माणको काम हालसम्म ८० प्रतिशत सम्पन्न भएको बनेपा नगरपालिकाले जनाएको छ । सिँढी निर्माण भएपछि बनेपाको ऐतिहासिक चण्डेश्वरी मन्दिर र गोसाइँस्थान दुई धार्मिक स्थल आउने पर्यटकलाई सिँढीको मार्गबाट ओहोरदोहोर गर्न सहज हुने भएको छ । बनेपा नगरपालिकाका इन्जिनियर चन्दन ह्योजुले चण्डेश्वरीदेखि गोसाइँस्थानसम्म जाने सोह्र सय सिँढी निर्माणको काम दुई चरणमा गरिएको बताउनुभयो । उहाँले पहिलो चरणमा सिँढी निर्माण र दोस्रो चरणमा पहिलो चरणको बजेटका कारण बनाउन बाँकी रहेका सिँढी बनाउने, सिँढीको दायाँबायाँ स्टिलको रेलिङ हाल्ने, गोसाइँस्थान पार्क र शहीद पार्क निर्माण गर्ने, गोसाइँस्थानमाथि रहेको भ्युटावरको मर्मत गर्नेलगायतका काम रहेको बताउनुभयो । 

उहाँले सोह्र सय सिँढी निर्माणअन्तर्गत पूर्वाधार निर्माणको काम सकिएको बताउँदै अब फिनिसिङको काम बाँकी रहेको बताउनुभयो । उहाँले सिँढी निर्माणका साथै दुई सटरको चमेना गृह, सार्वजनिक शौचालय र खानेपानीको समेत व्यवस्था गरिने बताउनुभयो । शौचालयको निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने खानेपानीको पाइप बिछ्याउने र चमेना गृह निर्माणको काम बाँकी रहेको छ । 

दुई चरणमा गरी कुल चार करोड ९० लाख रुपियाँको लगानीमा निर्माण भएको सोह्र सय सिँढी तथा अन्य पूर्वाधार निर्माणका लागि नगरपालिकाले साढे दुई करोड रुपियाँ खर्च गरेको छ ।