• १२ मंसिर २०८१, बुधबार

सुनकोसीका सबै सडक चौडा

blog

सिन्धुपाल्चोक समाचारदाता

सिन्धुपाल्चोक, माघ २५ गते । सुनकोसी गाउँपालिकाभित्रका सबै कच्ची सडक मापदण्डअनुसार छ मिटर चौडा बनाउन थालिएको छ । वडा नम्बर १ देखि ७ सम्मका सबै कच्ची सडकमा १२ महिना नै यातायातका साधन सञ्चालन हुने गरी स्तरोन्नतिको काम गर्न थालिएको सो गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।

अहिले वडा नम्बर ७ बाट कच्ची सडक चौडा बनाउन थालिएको छ । क्रमशः सबै वडाका सडक चौडा गर्दै लैजाने योजना रहेको छ ।  सडक चौडा गर्न गाउँपालिकाले एक्साभेटर अपरेटर नियुक्त गरेको छ भने इन्धनको पनि प्रबन्ध गरिसकेको जनाएको छ । 

सडक चौडा बनाउने कार्यसँगै नाला र अन्य संरचना निर्माणका काम पनि सञ्चालन गरिने भएको छ । 

‘सडक चौडा, नाला निर्माणलगायतका काममा के–कति हिसाब खर्च लाग्छ, त्यो सबै जनताका अघि पारदर्शी रूपमा सार्वजनिक गर्नुपर्ने वडा नम्बर ६ का पूर्ववडाध्यक्ष रामकुमार थापाले बताउनुभयो । 

सबै वडाका सडक वर्गीकरण गरेर सङ्घ, प्रदेश, गाउँपालिकाले सडक स्तरोन्नति गर्ने  अध्यक्ष तिमल्सिनाले जानकारी दिनुभयो । आगामी पाँच वर्षभित्र सडक स्तरोन्नतिका काम सम्पन्न गरिसक्ने उहाँले बताउनुभयो ।