• १२ मंसिर २०८१, बुधबार

पुल मर्मत नहुँदा घण्टौँ घुम्नुपर्ने सास्ती

blog

बाढीले बगाएको पुल मर्मत नहुँदा अलपत्र अवस्थामा । तस्बिर: प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालिकोट, माघ २४ गते । जिल्लाको नरहरिनाथ गाउँपालिको रहगाड झाेलुङ्गे पुल लामो समय सम्म मर्मत हुन सकेको छैन । झाेलुङ्गे पुल बाढीले बगाएको दुई वर्ष छ महिना पुग्दासम्म मर्मत नहुँदा गाउँपालिकाभरिका नागरिक समस्यामा छन् । 

उक्त पुलबाट नरहरिनाथ गाउँपालिका वडा नं १ देखि ९ सम्मका नागरिकमा सहज हुने गरेको थियो ।  तीन वर्षदेखि यो पुल निर्माण हुन नसक्दा स्थानीयवासीले सास्ती खेप्नुपरेको छ । वडा नं ४ र ५ का नागरिक पनि सोही पुलको प्रयोग गर्छन् । 

२०७७ साल साउन १३ गते आएको बाढीले रहगाड झाेलुङ्गे पुल आधा बगाएको थियो । दुई वर्ष छ महिना बितिसक्दा पनि उक्त झाेलुङ्गे पुल मर्मत नहुँदा स्थानीयलाई सास्ती भइरहेको छ । नरहरिनाथ गाउँपालिका वडा नं १ का ज्ञानबहादुर विष्टले तीन वर्ष पुग्न लाग्दासम्म झाेलुङ्गे पुल मर्मत नहुँदा नागरिकले निकै सास्ती पाएको गुनासो गर्नुभयो । नरहरिनाथ गाउँपालिका वडा नं ३ का मीनबहादुर बुढाले लामो समय झाेलुङ्गे पुल मर्मत नहुनु दुःखद भएको सुनाउनुभयो । 

स्वास्थ्यकर्मी बुढाले आफूहरू आकलझुक्कल गाउँ जाँदा त कति दुःख हुन्छ भने सधैँ वारिपारि गरिरहने र बिरामीलाई मान्म ल्याउँदा नागरिकलाई कति दुःख भएको होला, त्यति पनि स्थानीय सरकारले नसोचेको सुनाउनुभयो । 

नरहरिनाथ गाउँपालिका सूचना अधिकारी भरतकुमार कठायतले उक्त पुल बनाउन नसकिने भएकाले अर्को ठाउँमा नयाँ पुल बनाउने काम सुरु भए पनि केही समस्याले गर्दा काम रोकिएको जानकारी दिनुभयो । पुल निमार्णको जिम्मा लिएको सामाजिक तथा प्राविधिक क्षेत्र हेरिरहेको मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरुन्डेक)ले हालसम्म पुल मर्मतमा बेवास्ता गरेको स्थानीयको आरोप छ ।