• २३ पुस २०८१, मङ्गलबार

पार्किङ व्यवस्थापनमा पोखरा महानगर

blog

पोखरा समाचारदाता

पोखरा, माघ २४ गते ।  पोखराको मुख्य सडकमा हुने अव्यवस्थित पार्किङ निषेध गर्ने निर्णय कार्यान्वयन छोडेर महानगरपालिकाले वैकल्पिक व्यवस्थापनको खोजी सुरु गरेको छ । 

पोखराको चिप्लेढुङ्गा, न्युरोड, सभागृह चोक, पृथ्वी चोक र नयाँबजार क्षेत्रलाई महानगरले केन्द्रमा राखी उक्त स्थानमा पार्किङ निषेध गराउने निर्णय गरेको थियो ।

सो निर्णयलाई पोखरा उद्योग वाणिज्य सङ्घलगायतका व्यवसायीले विरोध गरेपछि महानगरले पार्किङ व्यवस्थापनमा जोड दिएको छ । तत्काल सडकबाट पार्किङ नहटाए दीर्घकालीन रूपमा हटाउनै पर्ने बाध्यता रहेको महानगरका प्रवक्ता मोतीराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अब पार्किङका लागि महानगरले शुल्क पनि उठाउँदैन र क्रमशः खाली पनि गर्दै जानेछ ।” महानगरले सम्बन्धित व्यक्तिका निजी र सार्वजनिक जग्गामा सशुल्क पार्किङको अवधारणा अगाडि सारेको छ ।

यसैबीच आज पोखरा–९ न्युरोडस्थित पूर्णिमा सिनेमा हल विस्थापन गरी खाली रहेको जग्गामा सशुल्क पार्किङको शुभारम्भ भएको छ । महानगरप्रमुख धनराज आचार्यले सडक पार्किङका लागि अब टेन्डर नगर्ने र सडकमा पार्किङ गर्ने परम्पराको अन्त्य गरिने बताउनुभयो ।

यहाँबाट परीक्षणका रूपमा पार्किङ व्यवस्थापनको अभियान सुरु गरिएको उहाँले बताउनुभयो । बिस्तारै उचित व्यवस्थापनसहित मुख्य बजार क्षेत्रका सडकमा हुने पार्किङ विस्थापन हुनेछन् । 

यसका लागि पोखरा महानगर क्षेत्रमा बनेका भवनहरूको बेसमेन्टहरूलाई पनि पार्किङका लागि उपयोग गरिने उहाँको भनाइ थियो । उहाँका अनुसार पोखरा सभागृह र पोखरा प्रदर्शनी केन्द्रमा भने अर्को व्यवस्था नभएसम्मका लागि निःशुल्क पार्किङको व्यवस्था गरिएको छ । 

विवरणअनुसार पोखराको मुख्य बजार क्षेत्र पृथ्वी चोक, सभागृह चोक, न्युरोड, बीपी चोक, महेन्द्र पुल, नयाँबजार हुँदै पृथ्वी चोकसम्मको सडकमा २५० गाडी र ३५० मोटरसाइकलहरू पार्किङ गरेको अनुमान गरिएको छ । पार्किङ हटाइएको क्षेत्रमा नियमित चल्ने गरी सिटी बसको समेत व्यवस्था गर्ने तयारीमा महानगर रहेको छ ।

पोखरा महानगरपालिका–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले “सुन्दर पोखरा निर्माणको अभियान पोखरा–९, बाटै शुभारम्भ गरिएको बताउनुभयो । सधैँ पोखरा कुरूप हुँदैन, अब पोखरा सुन्दर बन्छ, सुन्दर बनाउने अभियानको सुरुवात हो यो उहाँले थप्नुभयो ।”

सडकमा गरिने पार्किङका कारण बजार अस्तव्यस्त हुने र साँघुरा सडकका कारण सडक दुर्घटनाको जोखिम बढेपछि सडकको पार्किङ विस्थापन गर्न लागिएको पोखरा महानगरपालिका–१७ का राधिका शाही योगीको दाबी छ ।