• १२ मंसिर २०८१, बुधबार

संरक्षणको पर्खाइमा घाँसीकुवा

blog

अमरराज नहर्की

तनहुँ, माघ २४ गते । भानुभक्त आचार्यलाई आदिकवि बनाउने प्रमुख प्रेरणास्थल घाँसीकुवाको अस्तित्व जोखिममा परेको छ । पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्ड विस्तार भइरहेकाले घाँसीकुवामा रहेको कुवा र उद्यान सडक विस्तारसँगै मासिने जोखिम बढेको छ ।

भर्जन्म घाँसतिर मन दिई धन कमायो

नाम क्यै रहोस् पछि भनेर कुवा खनायो

घाँसी दरिद्र घरको तर बुद्धि कस्तो

म भानुभक्त धनी भैकन किन आज यस्तो ।

यो कवितांश घाँसीबाट प्रेरणा पाई आदिकवि भानुभक्त आचार्यद्वारा रचना गरिएको हो । भानुभक्त मामाको घर मानहुँ पुगेर पैदल बाटो फर्किने क्रममा घाँसीकुवामा नै घाँसीसँग भेट भएको र त्यही घाँसीबाट प्रेरणा पाई यस्तो कविता रचना गर्नुभएको थियो भन्ने प्रसङ्ग रहेको छ । त्यसकारण पनि उक्त कुवाको संरक्षण आवश्यक भएको बताइन्छ ।  

राजनीतिक दलका नेताहरूले कुवा संरक्षणका लागि चासो दिएका छन् । तनहुँको क्षेत्र नम्बर–१ प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कुवालाई नमासी सडक विस्तार गर्न निर्देशन दिएको बताउनुभयो । “सडक विस्तार गर्दा कुवालाई जोगाउने उपायहरू अपनाउन मैले निर्देशन दिइसकेको छु, कुवा मासिँदैन,” वरिष्ठ नेता पौडेलले भन्नुभयो ।

सडक विस्तार गर्दा हाल घाँसीकुवामा रहेको भानु–घाँसी स्मारक पार्क पनि हटाउनु पर्ने हुँदा संरक्षणका लागि तुरुन्त चासो राख्नुपर्ने माग स्थानीयको छ । व्यवस्थापन गर्न सम्बन्धित पक्षसँग कुरा गरिएको र त्यहाँको जमिनलाई जोगाएर सडक बनाउने प्रयत्न भइरहेको व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो । 

नगरप्रमुख न्यौपानेले भन्नुभयो, “न्यून आय भएका कमजोर व्यक्तिले पनि प्रेरणा, माया र शिक्षा दिन सक्दा रहेछन् भन्ने सन्देश घाँसीकुवाले दिइरहेको छ, हाल रहेको कुवाभन्दा थोरै तल सारेर घाँसीकुवाको मूल्यलाई स्थापित गर्छौं ।” घाँसी स्मारक पार्क संरक्षण समितिका कर्मचारी तथा स्थानीय बासिन्दा प्रेमराज पन्थले ऐतिहासिक स्थलको जसरी पनि संरक्षण गरिनुपर्ने बताउनुभयो । 

“यहाँ धेरैले फोटो खिचेका छन्, घाँसीकुवाको पानी खाएका छन् यो ठाउँ सबैले प्रेम गरेका छन्, संरक्षणका लागि सबैले चासो दिनुपर्छ,” पन्थले भन्नुभयो । देशव्यापी रूपमा चिन्ने ठाउँलाई जसरी पनि बचाउनुपर्छ र इतिहास मेट्न नहुने पन्थले बताउनुभयो ।  

घाँसीको सम्झना र सम्मानमा तनहुँको एउटा गाविसको नाम नै ‘घाँसीकुवा’ राखिएको थियो । अहिले यो गाविस व्यास नगरपालिकामा समायोजन भई १२ नम्बर वडा कायम भएको छ । सदरमुकाम दमौलीबाट पूर्वतर्फ करिब पाँच किलोमिटरको दूरीमा घाँसीकुवा पर्छ ।

कुवा नरहे भानुभक्तको पहिचानलाई असर पर्ने तथा पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न नसकिने हुँदा संरक्षणका लागि तीन तहकै सरकारले ध्यान दिनुपर्ने घाँसीकुवाकी स्थानीय लीलावती पन्थले बताउनुभयो ।