• १२ मंसिर २०८१, बुधबार

जीर्ण पुलको मर्मत थालियो

blog

देउखुरी समाचारदाता

देउखुरी, माघ २४ गते । देउखुरी उपत्यकालाई जोड्ने राप्ती नदीमा बनेको पक्की पुल जीर्ण हुँदै गएपछि मर्मतको काम थालिएको छ। लामो समयसम्म पुल मर्मतको काम नहुँदा दुर्घटनाको जोखिम बढेको थियो। 

पुल निर्माण भएप्छि देउखुरी उपत्यकाको राप्तीपारि–वारिको क्षेत्रलाई आवतजावतमा सहज भए पनि निर्माण भएको लामो समयसम्म पुलको मर्मत हुन सकेको थिएन। 

२०५६ सालमा राप्ती नदीमा पक्की पुलको शिलान्यास भएर निर्माणको काम सुरु भई २०५९ मा निर्माण कार्य सकिएको थियो। फलामे पुलमा खिया लागेको थियो। नट, बोल्ट ढिला भएका थिए। जसले गर्दा पुलको आयु घट्दै गएको थियो। यो पुलको निर्माणपछि मर्मत भएको थिएन। लमही नगरपालिका–४, सेमरहवा निवासी गणेश कुमालले पुल बनेदेखि मर्मत नहुँदा जीर्ण बनेकाले आवतजावत गर्नै समस्या भएको बताउनुभयो। नदीकिनारमा क्रसर उद्योग खुलेपछि ओभरलोडका सवारीसाधन ओहोरदोहोर गर्दा पुलमा असर परेको छ। 

यस्तै राप्ती नदीमा बनेका दुईवटा पक्की पुल मर्मत गर्न थालिएको छ। पूर्वमा भालुबाङ र पश्चिममा लमही–गढवा सडकखण्डमा पर्ने पुल मर्मत गर्न थालिएको हो। पुल सेक्टर कार्यालय नेपालगञ्जका प्रमुख लीलाबहादुर भण्डारीले दुईवटा पुल मर्मत गर्न दुई करोड २० लाखको बजेट रहेको जानकारी दिनुभयो। जीर्ण अवस्थामा पुगेको पुललाई मर्मत गरेर नयाँजस्तै बनाइने उहाँको दाबी छ।