घोराही समाचारदाता
घोराही, माघ २२ गते । तीन वर्षअघिसम्म ४७ वर्षीया कमला सेन कुसुन्डाले आफ्नी दिदीसँग मातृभाषा कुसुन्डा भाषामा कुरा गर्नुहुन्थ्यो । दिदीबहिनीको भेटमा सुखदुःख तथा पारिवारिक कुराकानी साटासाट आफ्नै भाषा हुन्थ्यो तर २०७७ माघ १९ गते दिदी ज्ञानुमैयाँको निधन भएपछि कमलासँग कुसुण्डा भाषामा संवाद गर्ने कोही छैन । बोल्ने दोस्रो व्यक्ति नहुँदा कमलाले समेत अब आफ्नो भाषासमेत बिर्सिन थाल्नुभएको छ ।
“भाषा जति बोल्यो त्यति सम्झिने हो तर हाम्रो समुदायमा कुसुन्डा भाषा बोल्ने कोही छैन,” उहाँले भन्नुभयो, “दिदी हुँदा भेटमा कुरा गर्ने हुन्थ्यो । उहाँ बितेपछि कुसुन्डा भाषा बोल्न छोडेजस्तै भाछ ।” घरपरिवारसँगै आफ्नो समुदायमा भाषा बुझ्ने र बोल्न सक्ने कोही नहुँदा भाषा जोगाउनै समस्या भएको उहाँ बताउनुहुन्छ ।
२०६८ सालको जनगणनाअनुसार नेपालमा कुसुन्डा जातिको सङ्ख्या २६२ जना रहेको छ । २६२ जनामा कुसुन्डा भाषा पूर्ण रूपमा बोल्न सक्ने वक्ताका रूपमा ज्ञानीमैयाँ र कमला मात्रै हुनुहुन्थ्यो तर ज्ञानुमैयाँको मृत्युपछि अहिले कमला भाषाको जानकारका रूपमा एक्ली वक्ता हुनुहुन्छ । कुसुन्डा भाषा बोल्ने र बुझ्ने एक्ली वक्ता कमलालाई भाषा बच्ला कि नबच्ला भन्ने चिन्ता छ । पहिले कसैले नबुझ्ने कुसुन्डा भाषा के काम लाग्ला भनेर आफ्ना छोराछोरीलाई नसिकाएको भन्दै कमलाले अहिले नातीनातिनालाई सिकाउँदासमेत नबुझ्ने गरेको बताउनुहुन्छ ।
लोपोन्मुख अवस्थामा पुगेको कुसुन्डा जातिको भाषा संरक्षणसँगै विकास गर्ने उद्देश्यले इच्छुक व्यक्तिलाई भाषा सिकाउन थालेपछि चार वर्षअघि भाषा सिक्नकै लागि प्युठानबाट दाङ आउनुभएकी हिमा कुसुन्डा अहिले सामान्य रूपमा आफ्नो मातृभाषा बोल्न र लेख्न सक्ने भएको बताउनुहुन्छ । “म कुसुन्डा जातिकी छोरी भए पनि मलाई आफ्नो भाषा आउँदैनथ्यो । त्यसैले आफ्नो भाषा सिक्नुपर्छ भनेर प्युठानबाट आएर पढाइसँगै मातृभाषा सिक्दै छु,” हिमा भन्नुहुन्छ, “अहिले आफ्नो भाषामा सामान्य कुरा गर्न र लेख्न सक्ने भएकी छु ।”