सिराज खान 
नेपालगञ्ज, माघ २१ गते । थारू साहित्य तथा इतिहास अभिलेख गर्ने उद्देश्यका साथ बाँकेमा सातौँ थारू राष्ट्रिय साहित्य सम्मेलन शुक्रबारबाट सुरु भएको छ। बाँकेको राप्तीसोनारी गाउँपालिका–६, सिधनवामा सुरु भएको थारू राष्ट्रिय साहित्य सम्मेलनको उद्घाटन नेपाल सरकारका सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले गर्नुभयो। मन्त्री मोदीले साहित्य र संस्कृतिको जगेर्ना र विकासका लागि सरकार गम्भीर रहेको जनाउँदै सबैको कला संस्कृति र साहित्यको संरक्षणमा सरकारको सहयोग रहने बताउनुभयो।
त्यस्तै लुम्बिनी प्रदेशका मन्त्री कृष्णा केसी नमुना, सांसद सञ्जु चौधरी, थारू राष्ट्रिय आयोगका सदस्य सुबोधसिंह थारू, राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेल, खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकलगायतले थारू साहित्यको विकास तथा इतिहास अभिलेखमा यो सम्मेलनले ठूलो सफलता प्राप्त गर्ने कामना गर्नुभयो। महोत्सवमा विभिन्न प्रकारका नाचगान तथा झाँकी प्रस्तुत गरिएको थियो। माघ २३ सम्म सञ्चालन हुने सम्मेलनमा थारू साहित्यको समकालीन अवस्थाबारे अन्तरसंवाद, सिर्जनात्मक लेखनको खोजी, थारू मानक भाषा लेखन, संस्कृतिको वेशभूषाबारे अन्तत्र्रिmया गरी इतिहास अभिलेख गरिने थारू लेखक सङ्घका केन्द्रीय सदस्य शेखर दहितले बताउनुभयो।
थारू लेखक सङ्घको आयोजना र थारू गोचाली समाजको व्यवस्थापनमा सुरु भएको सम्मेलनमा साहित्य लेखनको प्रशिक्षण, थारू गीत, थारू लेख, थारू पुस्तक, विकासमा बरघर, पश्चिम थरुहटमा राजनीतिक फिलिङ्गो, होमस्टेमा थारू समुदाय उद्यमशीलता सम्भाव्यता, आख्यानमा थारू जीवन, बाँकेको थारू साहित्यको अवस्था, थारू साहित्यमा युवा, सिकलसेल एनिमियाको कहरले जनस्वास्थ्यमा प्रतिकूल असरजस्ता थुप्रै जिल्ला तथा स्थानीयस्तरका थारूका मुद्दालाई लिएर बहस तथा छलफल गरिने थारू गोचाली समाजका महासचिव कालुराम थारूले बताउनुभयो।
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                