• १४ वैशाख २०८१, शुक्रबार

मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, मन्त्रीको शपथ

blog

मन्त्रिपरिषद् विस्तारपछि पद तथा गोपनीयताको शपथ लिनुहुँदै नव नियुक्त मन्त्री । तस्बिर : सर्बेन्द्र झा

धर्बेन्द्र झा

धनुषा, माघ २० गते। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ। 

शुक्रबार मन्त्रिपरिषद् विस्तारमा महेशप्रसाद यादवलाई शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्रालय, सुरिता साहलाई सामाजिक विकास मन्त्रालय, शत्रुधनप्रसाद सिंहलाई गृह तथा सञ्चार मन्त्रालय, सिंहासन साह कलवारलाई खानेपानी तथा ऊर्जा विकास मन्त्रालय, राजकुमार लेखीलाई कानुन, न्याय तथा प्रदेश सभा मामिला मन्त्रालय, मोहम्मद जयद आलमलाई महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ।

त्यसैगरी शेख अबुल कलाम आजादलाई सामाजिक विकास राज्यमन्त्री, केशव राय गृह तथा सञ्चार राज्य मन्त्री र सञ्जयकुमार यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी राज्य मन्त्रीको जिम्मेवारी दिइएको छ। 

शुक्रबार नियुक्त छ जना मन्त्री र तीन जना राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। प्रदेश प्रमुखको कार्यालयमा आजै साँझ आयोजित एक कार्यक्रमबीच मुख्यमन्त्री यादवको उपस्थितिमा मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले नवनियुक्त मन्त्रीलाई एकै साथ शपथ ग्रहण गराउनु भएको हो।

मन्त्रीहरूले शपथ ग्रहण गरेपश्चात् मुख्यमन्त्री यादवले प्रदेश प्रमुखको उपस्थितिमा तिनै जना राज्यमन्त्रीलाई शपथ ग्रहण गराउनु भएको थियो। कार्यक्रममा मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल, विभिन्न राजनीतिक दलका संसदीय दलका नेता, मन्त्रीगण तथा उच्चपदस्थ कर्मचारीको उपस्थिति थियो।

शपथ ग्रहणपछि आजै मन्त्रीले पदभार ग्रहण गर्ने कार्यक्रम रहेको बताइएको छ। नेकपा (माओवादी केन्द्र) भित्रमा समझदारी नमिलेपछि माओवादी केन्द्रको फाँटमा परेको उद्योग पर्यटन तथा वन मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री यादवले आफै राख्नु भएको छ।