• ७ वैशाख २०८१, शुक्रबार

श्रममन्त्री अर्याल र मलेसियाली गृहमन्त्रीबीच भेटवार्ता

मलेसियाका श्रमिकसरह सेवा सुविधा दिने विषयमा छलफल

blog

काठमाडौंस्थित एक होटलमा नेपाल र मलेसियाका मन्त्रीबीच भेटवार्ता । तस्बिर : कविन अधिकारी

काठमाडौं, माघ २० गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र मलेसियाका गृहमन्त्री सैफुदिन नासुसनले भेटवार्ता गर्नुभएको छ । शुक्रबार काठमाडौंस्थित एक होटलमा दुई देशका मन्त्रीबीच शिष्टाचार भेटवार्ता भएको हो ।

भेटका क्रममा दुई सरकारबीचको सम्बन्धलाई थप मजबुत बनाउने बारेमा छलफल भएको हो । बैठकपछि बोल्दै श्रममन्त्री अर्यालले मलेसिया सरकारसँग नेपाल सरकारको श्रम सम्झौतालाई नवीकरण गर्ने बेला भएको र नवीकरण गर्दा नेपाली श्रमीकलाई पनि मलेसियाका श्रमिकसरहको सेवा सुविधा दिने कुरामा छलफल भएको बताउनुभयो । उहाँले नेपालबाट पनि कामदारलाई मलेसिया पठाउँदा सीप सिकाएर पठाउने कुरामा छलफल भएको जानकारी दिनुभयो ।

मन्त्री अर्यालले भन्नुभयो, ‘‘मलसियासँगको सम्बन्ध हामी अझै अगाडि बढाएर जानेछौँ । श्रम सम्झौतासम्बन्धी नवीकरण गर्ने बेला भएको छ । हामीले त्यसलाई अत्यन्त सूक्ष्म तरिकाले अध्ययन गरेर आवश्यकता अनुसारको सुधार गर्नेछौँ । नेपाली कामदारलाई मलेसियाका कामदारसरह नै सेवा सुविधा दिने कुरामा छलफल भएको छ । हामीले पठाउँदा पनि कामदारलाई स्किल सिकाएर पठाउने कुरा भएको छ ।’’


त्यस्तै, मलेसियाका गृहमन्त्री सैफुदिन नासुसनले नेपालबाट दुई लाख ८५ हजार ७६८ जना श्रमीकहरु मलेसिया गएको र सो मध्येबाट एक लाख ८५ हजार म्यानुफ्याक्चर्स क्षेत्रमा आबद्ध रहेको बताउनुभयो । ७० हजार कर्मचारी सेक्युरिटी गार्डमा कार्यरत रहेको उहाँको भनाइ छ । गृहमन्त्री नासुसनले मलेसिया सरकारले नयाँ श्रम नीति बनाउन लागेको उल्लेख गर्दै कामदार अनुकूलको नीति निर्माण गरिरहेको र त्यसका बारेमा पनि बैठकमा छलफल भएको जानकारी दिनुभयो । उहाँले कामदारहरुका लागि ज्यालामा पनि वृद्धि गर्नेगरी नीति बनाएको बताउनुभयो ।


मलेसियाका गृहमन्त्री नासुसनले भन्नुभयो, ‘‘नेपालबाट दुई लाख ८५ हजार ७६८ जना श्रमिकहरु मलेसिया गएका छन् । जसमध्ये एक लाख ८५ हजार म्यानुफ्याक्चर्स क्षेत्रमा छन् भने ७० हजार कर्मचारी सेक्युरिटी गार्डमा कार्यरत छन् । मलेसियाले नयाँ श्रम नीति बनाउँदैछ । हामीले आजको बैठकमा मलेसियामा लागू हुन लागेको नयाँ श्रम नीतिका बारेमा छलफल गरेका छौँ । हामीले कामदार अनुकूलको नीति निर्माण गरिरहेका छौँ । यसको छिट्टै नै हामी नीति निर्माण गर्दैछौँ । कामदारहरुका लागि ज्याला बढाउने काम नीति हामीले अघि बढाइरहेका छौँ । मलेसियामा भइरहेका नेपालीहरुका लागि हामीले रि क्यालिब्रेशन प्लान अघि सारेका छौँ ।’’

तीनदिने नेपाल भ्रमणका क्रममा बिहीबार साँझ आउनुभएका उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि शिष्टाचार भेटवार्ता गर्नुहुने कार्यक्रम छ ।