• १२ वैशाख २०८१, बुधबार

धनुषामा हुने महिला राष्ट्रिय हक्की प्रतियोगिताको तयारी पूरा

blog

मधेश प्रदेश टोलीबाट भाग लिने महिला हक्की खेलाडी अभ्यास गर्दै । तस्बिर : विजयकुमार साह

विजयकुमार साह
ढल्केबर, माघ २० गते ।
पाँचौ संस्करणको सहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिता माघ २३ गतेबाट धनुषाको नकटाझिजमा हुने भएको छ ।  नेपाल हक्की सङ्घ र धनुषास्थित मिथिला नगरपालिकाको संयुक्त आयोजनामा महिला राष्ट्रिय हक्की प्रतियोगिता हुन लागेको हो ।

मधेश प्रदेश हक्की टिमका संयोजक रवीन्द्र सिंहले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको बताउनुभयो । उहाँले हिमालय युवा क्लब नकटाझिजको खेल मैदानमा माघ २३ गते २८ गतेसम्म प्रतियोगिता हुने जानकारी दिनुभयो ।

मधेश प्रदेशमा पहिलो पटक आयोजना हुन लागेको महिला राष्ट्रिय हक्की प्रतियोगितामा नेपालका छ वटा प्रदेश र एक विभागीय टोली (नेपाल आर्मी) को टोली गरी सात वटा टिमको सहभागिता रहनेछ । सहभागी टिमलाई समूह ‘ए’ र ‘बि’ गरी दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा बागमती, सुदूरपश्चिम र गण्डकी प्रदेशको टिम छन् । समूह ‘बी’ मा प्रदेश १, लुम्बिनी, मधेश र नेपाल आर्मी छन् । प्रतियोगिताको पहिलो दिन २३ गते तीनवटा खेल हुने संयोजक सिंहले बताउनुभयो ।

मधेश प्रदेशका महिला खेलाडीलाई प्रोत्साहन तथा महिला सशक्तीकरणमा जोड पुग्ने उद्देश्यले यस पटक महिला राष्ट्रिय हक्की प्रतियोगिता तराईको भूभागमा गर्न जोडबल गरिएको मिथिला नगरपालिकाका नगरप्रमुख महेन्द्र महतोले बताउनुभयो ।