• ७ वैशाख २०८१, शुक्रबार

कार्की पक्राउबारे आयोग अध्ययनमा

blog

काठमाडौँ, माघ २० गते । अपाङ्गता भएका दोलखाका डिल्लीबहादुर कार्कीलाई काठमाडौँ महानगरपालिकाका नगर प्रहरीले रत्नपार्कबाट ह्विलचेयरसहित उठाएर ट्रकमा राखी लगेको सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोगले अध्ययन थालेको छ ।

आयोगको टोलीले बिहीबार काठमाडौँ महानगरपालिकाका अधिकारी र अमानवीय व्यवहार गरिएका कार्कीको परिवारसँग पनि छलफल गरेको छ । 

आयोगका सहसचिव नवराज सापकोटाले भन्नुभयो, “गोरखापत्रलगायतका सञ्चार माध्यमबाट समाचार प्रकाशित भए पनि आयोगले पनि आफ्नैतर्फबाट अध्ययन गरिरहेको छ । सम्बन्धित व्यक्तिसँग थप छलफल गरेर आयोगले केही दिनमै आफ्नो धारणा सार्वजनिक गर्नेछ ।”

बुधबार काठमाडौँ महानगरपालिकाका प्रहरीले ह्विलचेयरमा बसेर सडक पेटीमा सामान बेचेको आरोपमा समातिएका कार्कीलाई नगर प्रहरीले ट्रकमाथि नै राखेर सहर परिक्रमा गराएको थियो । कम्मरभन्दा तल्लो भाग नचल्ने कार्कीलाई ट्रकमा राखेर सहर घुमाउँदा सार्वजनिक बेइज्जति भएको तथ्यलाई भने महानगरपालिकाले बिर्सेको छ । 

अपाङ्गता भएका व्यक्तिलाई सम्मानवूर्पक जिउन पाउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनको समेत महानगरपालिकाले उल्लङ्घन गरेको छ । अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ ले अपाङ्गता भएका व्यक्तिको आत्मसम्मानमा चोट पुग्ने गतिविधि गर्न नपाइने व्यवस्था गरेको छ । 

ऐनको दफा १५ मा अपाङ्गता भएका व्यक्तिलाई घृणा, हेला, उपहास वा तिरस्कार गर्न नपाइने स्पष्ट उल्लेख छ । साथै अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्ने सहायक सामग्री प्रयोगमा अवरोध वा हस्तक्षेप गर्न तथा खोस्न नपाइने व्यवस्था पनि सोही दफाले गरेको छ । त्यस्तो क्रियाकलाप गर्नेलाई नौ महिनासम्म कैद वा ३० हजार रुपियाँदेखि ९० हजार रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने ऐनले व्यवस्था गरेको छ । 

अपाङ्गता भएका व्यक्तिको अधिकारको क्षेत्रमा क्रियाशील सञ्चारकर्मी गजेन्द्र बुढाथोकीले अपराधीलाई कारबाहीस्वरूप शासकले चारपाटा मुढेर सहर घुमाएको शैलीमा कार्कीलाई नगर प्रहरीले सार्वजनिक बेइज्जति गरेको आरोप लगाउनुभयो । बुढाथोकीले भन्नुभयो, “कार्कीले सडकमा बसेर गलत क्रियाकलाप गरेको भए महानगरपालिकाले अपाङ्गतामैत्री सवारीसाधनमा राखेर कारबाहीका लागि सम्बन्धित ठाउँमा लैजान सक्थ्यो तर सामान राख्ने ट्रकमा राखेर उफार्दै सडकको गल्ली गल्ली घुमाउनु अत्यन्तै अमानवीय र कानुनी दृष्टिले पनि गलत क्रियाकलाप हो ।” 

सडकपेटी खाली गराउन खटिएका नगर प्रहरीलाई व्यक्ति पक्रेर लैजाने अधिकार नभएको समेत बुढाथोकीले जिकिर गर्नुभयो । संयुक्त राष्ट्रसङ्घीय मानव अधिकारसम्बन्धी महासभाले सन् २००६ डिसेम्बर १३ तारिखको दिन पारित गरेको अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धिमा पनि अपाङ्गता भएका व्यक्तिलाई अपमानजनक वा अमानवीय व्यवहार गर्न नपाइने उल्लेख गरेको छ । 

साथै अपाङ्गता भएका व्यक्तिलाई त्यस्ता व्यवहार हुनबाट रोक्न पक्ष राष्ट्रहरूले व्यवस्थापकीय, न्यायिक वा अन्य उपाय अपनाउनुपर्ने महासन्धिको धारा १५ मा उल्लेख छ । नेपालले उक्त महासन्धिमा सन् २००८ जनवरी ३ तारिखमा सैद्धान्तिक प्रतिबद्धता व्यक्त गरेको थियो । 

अपाङ्गता भएका व्यक्तिहरूको अधिकारको क्षेत्रका वकालत गर्दै आएको संस्था अतुुल्य फाउन्डेसनका अध्यक्ष पल्लव पन्तले पनि कार्कीमाथि काठमाडौँ महानगरपालिकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन आकर्षित हुने गरी अत्याचार गरेको आरोप लगाउनुभयो । 

कार्कीलाई सडकबाट उठाएर लगिएको विषयमा बिहीबार सम्पन्न काठमाडौँ महानगरपालिकाको समीक्षा बैठकमा पनि छलफल भएको छ । पर्याप्त स्रोत र साधन नभएका कारण कार्कीलाई ट्रकमा राखेर लैजानु परेको र अबको दिनमा यस्ता व्यक्तिलाई समात्दा थप सम्मानपूर्ण व्यवहार गर्ने निर्णय भएको महानगरका प्रवक्ता नवीन मानन्धरले बताउनुभयो । 

उहाँले भन्नुभयो, “कार्कीलाई गाडीमा राख्दा हामीले थोरै कमजोरी गरेकै हो तर मानव सेवा आश्रममा जानूस्भन्दा पनि नमानेपछि बाध्य भएर समातेका हौँ । अबदेखि त्यस्ता मान्छेलाई सडकबाट हटाउँदा सम्बन्धित व्यक्तिको घर पु-याएर छोड्ने निर्णय गरेका छौँ ।”

Author
सूर्यप्रसाद पाण्डे

उहाँ शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।