• १० मंसिर २०८१, सोमबार

‘टेलिकमको सेवा ग्राहकको घरसम्मै पुर्‍याउँछौँ’

blog

प्रादेशिक निर्देशनालयको टोलीद्वारा शाखाका कर्मचारीहरुसँग गरिएको अन्तरक्रिया । तस्बिर : ललिता साह

ललिता साह 

बोदेबसाईन (सप्तरी) माघ १९ गते । नेपाल टेलिकमले प्रदान गर्दैआएको हरेक सेवा सेवाग्राहीको घरसम्म पुर्‍याउने नेपाल टेलिकम मधेश प्रदेश प्रादेशिक निर्देशनालयका निर्देशक अन्तप्रकाश मल्लिकले बताउनुभएको छ । सेवा प्रवाह चुस्त दुरुस्त र फाइवर सुविधालाई गुणस्तरीय बनाउने विषयमा बिहीबार नेपाल टेलिकम दूरसञ्चार कार्यालय राजविराज, हनुमाननगर शाखाका कर्मचारीहरूसँगको अन्तरक्रियामा उहाँले त्यस्तो बताउनुभएको हो ।  

पुरानो तामाको तारबाट चल्ने टेलिफोन तथा इन्टरनेट पूर्णरुपमा विस्थापन गरी नयाँ प्रविधिको फाइबर टु दि होममा रूपान्तरण भइसकेको उहाँले जानकारी दिनुभयो । अन्य जिल्लाको तुलनामा वैदेशिक रोजगारीमा सप्तरीका नागरिक धेरै गएकाले डाटा चलाउने ग्राहकहरूको तथ्याङ्क पनि यहाँ अत्यधिक रहेको उहाँको भनाइ छ । निजी डाटा कम्पनीहरूको प्रतिस्पर्धाकाबीच हामी टेलिकमको सेवा परिष्कृत बनाउँदै लग्नुपर्छ । पहिलाजस्तो टेलिकमको एकक्षत्रीय राज नरहेकाले हामीकहाँ ग्राहक आउनुभन्दा हामी सेवाग्राहीको घरसम्म पुग्नुपर्ने समय आएको छ उहाँले भन्नुभयो । 

पुराना प्रविधिलाई विस्थापन गरी नयाँ फाइवर जडान गर्ने टेलिकमको अभियानमा राजविराज शाखाले हालसम्म गरेको उपलब्धि उदाहरणीय रहेको उहाँले बताउनुभयो । योसँगै पाइलट प्रोजेक्टमार्फत हामी ग्राहकलाई सेवा उपलब्ध गराउने प्रयासमा छौँ उहाँले भन्नुभयो । 

प्रादेशिक निर्देशनालयका प्रबन्धक डा. शालिग्राम पराजुलीका अनुसार आत्मअनुशासनले कर्मचारी स्वयम् र संस्थालाई फाइदा हुने बताउनुभयो । सेवा सुलभ र गुणस्तरीय भए मात्र समाज र सेवाग्राहीले सम्मानको दृष्टिकोणले हेर्ने उहाँले बताउनुभयो । नेपाल टेलिकमको मुख्य आम्दानीको स्रोत ग्राहकलाई सेवाप्रवाह गरे बापतको रकम भएकाले हामी इमान्दारीपूर्वक काम गरेर संस्थानलाई अघि बढाउन योगदान गर्नुपर्ने धारणा राख्नुभयो ।  

दूरसञ्चार कार्यालय राजविराजका कार्यालय प्रमुख मो. हसन अन्सारीले राजविराजमा २०७७ चैत्रबाट सुरु गरेको सेवा विस्तार तथा वितरणसम्बन्धी काम अहिले आएर सम्पन्न हुन लागेको उहाँले जानकारी दिनुभयो । राजविराजमा दरबन्दीअनुसार कर्मचारी पदपूर्तिको पहल गरिदिन शाखा प्रमुख अन्सारीले निर्देशनालयसँग अनुरोध गर्नुभयो।