• १६ चैत २०८०, शुक्रबार

सिमकोट रिङरोड निर्माणको काम अघि बढ्ने

blog

निर्माण कार्य रोकिएको सिमकोट रिङरोड । अब सो रोडको निर्माण कार्य अघि बढ्नेछ । तस्बिर : राजन रावत

राजन रावत

हुुम्ला, माघ १९ गते । हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटको रिङरोड निर्माण कार्य अगाडि बढ्नेभएको छ । कर्णाली प्रदेश सरकारबाट बजेटको व्यवस्था भएपछि बजेट अभावले रोकिएको निर्माण कार्य अघि बढ्ने भएको हो ।  

सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले गत असारपछि निर्माण कार्य रोकिएको सिमकोट रिङरोडको निर्माण कार्य अघि बढ्ने बताउनुभयो । उहाँले कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ५० लाख बजेटको व्यवस्था गरेपछि रोकिएको निर्माण कार्य अघि बढ्ने भएको बताउनुभयो । 

गत असारमा काम गर्न नभ्याएपछि विनियोजित ५० लाख बजेटमध्ये २५ लाख रुपियाँ फिर्ता गएको थियो । उपभोक्ता अन्तिम समयमा काम सुरु गरेको कारण बजेट फिर्ता गएको हो । गाउँपालिकाको आफ्नै स्रोत नभएको र अरूको मुख ताक्नुपर्ने भएका कारण रिङरोड निर्माणको काम अनिश्चित भएकाबेला कर्णाली प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री जीवनबहादुर शाहीले सो बजेटको व्यवस्था गर्न लगाउनुभएको हो । 

अब बजेट गाउँपालिकाको कार्यालयमा आएको र स्थानीय जग्गाधनीसँग छलफल र उपभोक्ता समिति गठनपछि निर्माण कार्य सुरु गरिने उहाँले बताउनुभयो । हालसम्म रिङरोड नभएको सदरमुकाममा सिमकोट पर्छ । सो रिङरोड विगत ६ वर्षदेखि निर्माणाधीन रहेको छ । समिति बजेटको व्यवस्था हुने गरेको कारण बजेट अनुसारको काम हुँदैआएको छ । रिङरोडको हालसम्म निर्माण भएको क्षेत्रमा सिमकोट गाउँपालिका –६ को आवासीय विद्यालयदेखि ५ नम्बर वडाको भदालेसम्म डेढ किलोमिटर रहेको छ ।  

रिङरोडको निर्माण भएको क्षेत्रमा ६ देखि सात मिटर चौडा सडक निर्माण भएको छ । २०७३ सालमा तत्कालीन जिल्ला विकास समितिले बजेट व्यवस्था गरेपछि रिङरोडको निर्माण कार्य सुरु भएको थियो ।