• ११ मंसिर २०८१, मङ्गलबार

स्वास्थ्य सेवा विभागको अनुगमनमा स्वास्थ्य मन्त्री

खरिद प्रक्रियामा शुद्धता नभए कसैले साथ दिँदैन : स्वास्थ्यमन्त्री गिरी

blog

अनुगमनपछि स्वास्थ्य परीक्षण गर्नुहुँदै स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी । तस्बिर : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

काठमाडौं, माघ १९ गते। स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले खरिद प्रक्रियामा शतप्रतिशत पारदर्शिता कायम गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ। जनतामा ठूलो निराशा आउन सक्ने भन्दै खरिद प्रक्रियामा पूर्ण शुद्धता कायम गर्न मातहतका सबै निकाय लाग्नुपर्ने मन्त्री गिरीको भनाइ छ। 

बिहीबार काठमाडौंको टेकुस्थित स्वास्थ्य सेवा विभागको अनुगमन गर्ने क्रममा उहाँले खरिद प्रक्रियामा पारदर्शिता कायम नभएको गुनासो सञ्चार माध्यममा आएको भन्दै त्यो भेटिए स्वीकार्य नहुने चेतावनी दिनुभएको छ। 

मन्त्री गिरीले कुनै पनि निकायबाट नीतिगत भ्रष्टाचार हुने वा निहित स्वार्थमा काम हुने गरेको पाइएको उल्लेख गर्दै त्यसलाई तत्काल निरुत्साहित पार्न सचेत गराउनुभयो। उहाँले अस्पताललाई पूर्ण रूपमा प्रविधिमैत्री बनाउन सम्बन्धित पक्ष लाग्नुपर्ने बताउनुभयो। 

मन्त्री गिरीले भन्नुभयो, ‘अहिले लगभग धेरैजसो मिडियामा खरिद प्रक्रियाको विषयलाई लिएर अनेक समाचार बन्ने गरेका छन्। खरिद प्रक्रियामा शत प्रतिशत पारदर्शिता कायम गर्ने गरी यहाँहरूले काम गर्नुहोला। भोलि कतै यस्ता गुन्जायस देखिए भने त्यतिबेला तपाईँलाई कसैले बोक्नेवाला र साथ दिनेवाला छैन। यो धेरै संवेदनशील विषय छ। सबैको यसप्रति गम्भीर रूपले ध्यानाकर्षण भएको छ। खरिद प्रक्रियामा शत प्रतिशत शुद्धता कायम गरियोस्। त्यहाँ कुनै पनि किसिमको नीतिगत भ्रष्टाचारको वा स्वार्थ अनुकूलका काम गर्ने भएको छ भने त्यसलाई निरुत्साहित बनाउनु पर्दछ।’ 

मन्त्री गिरीले जनताप्रति उत्तरदायी भएर सेवा प्रवाहको काम गर्न पनि स्वास्थ्य सेवा विभागको ध्यानाकर्षण गराउनुभयो। उहाँले स्वास्थ्य उपकरणको दुरुपयोग नगर्न पनि मातहतका निकायले सचेत भएर काम गर्नुपर्ने बताउनुभयो। मन्त्री गिरीले विभागले महँगोमा उपकरण खरिद गर्ने तर जनताले त्यसबाट सेवा नपाउने अवस्था आइरहेकाले त्यस्तो अवस्था आउन नदिनेगरी काम गर्नुपर्ने पनि स्पष्ट पार्नुभयो।


 उहाँले भन्नुभयो, ‘‘यो विभाग जतिधेरै प्रभावकारी ढङ्गले काम गर्छ। आफ्ना अङ्गलाई जनताप्रति जबाफदेही, उत्तरदायी भएर जति काम गर्छ त्यति नै जनताले गुणस्तरीय स्वास्थ्य सेवा पाउन सक्छ। तपाईँहरूले धेरै काम गर्नुभएको छ। यो विभागसँग लामो अनुभव पनि छ। स्वास्थ्य क्षेत्रमा हामीले धेरै उपलब्धि पनि हासिल गरेका छौँ। त्यसका लागि म तपाईंहरुलाई धन्यवाद दिन चाहन्छु। अहिले धेरै कुरा नगरौँ। जुनजुन महाशाखाको जिम्मेवारी साथीहरूले लिनु भएको छ। जुनजुन शाखाको जिम्मेवारी लिनुभएको छ। आफ्नो शाखा, महाशाखा भित्रका परिभाषित जिम्मेवारी  निपूर्णताका साथ त्यो अठोट, इच्छाशक्ति तपाईँहरूमा हुनुपर्दछ।’’ 

नेपाली जनताले बुझाएको राजस्वबाट खरिद भएका सामग्री सदुपयोग नहुनु दुःखको कुरा भएको उहाँको भनाइ छ। योजना बनाएर काम गर्नसमेत उहाँले निर्देशन दिनुभएको छ। 

स्वास्थ्यमन्त्री गिरीले भन्नुभयो, ‘नेपाली जनताले आफ्नो रगत र पसिनाबाट दिएको राजस्वबाट हामी यति महँगोमा सामग्री खरिद गर्छौ। तर त्यसको सही सदुपयोग हामीले गर्न सकेनौँ भने त्यो बहुतै दुःखको कुरा हुन्छ। देशभरि सबै अस्पतालमा तपाईँहरूले अत्यन्तै सूक्ष्म ढङ्गले हेर्नुहोस्। ती प्रयोगमा छन् कि छैनन् ? छैनन् भने किन छैनन् ? त्यो सन्दर्भमा के गर्नुपर्ने हो ? तत्काल तपाईँले योजना बनाएर आफ्नो काम गर्नुहोला। भोलि जनताको गुनासो आएर अन्य ढङ्गले ती विषय बुझेर फेरि हामीले यहाँलाई थप भन्नुपर्ने परिस्थिति नबनोस्। यसतर्फ अत्यन्तै सजग रहेर कामका लागि म सम्बन्धित सबै साथीलाई म आग्रह पनि गर्न चाहन्छु।’’

मन्त्री गिरीले जनताको गुनासोलाई सम्बोधन हुनेगरी आवश्यक योजना बनाएर काम गरे आफूले त्यसमा आवश्यक सबै सहयोग उपलब्ध गराउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो। त्यसक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंहले आफू मातहतका निकायले सम्पादन गरेका कामबारे मन्त्री गिरीलाई जानकारी गराउनुभएको थियो।