• १२ मंसिर २०८१, बुधबार

आर्थिक विकास र समृद्धिका लागि मिलेर काम गरौँ : मुख्यमन्त्री गिरी

blog

लुम्विनी प्रदेशका मुख्यमन्त्री लिला गिरी एनटीभी कोहलपुरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : गोविन्द शर्मा

गोविन्द शर्मा 

बाँके, माघ १९ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले राजनीतिक अस्थिरता नै मुलुकको सबैभन्दा प्रमुख समस्या भएको बताउनुभएको छ । बिहीबार एनटिभी कोहलपुरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले सो कुरा बताउनुभएको हो ।

“यो अस्थिरताबाट कसरी मुलुकलाई जोगाउने ? कसरी मुक्त हुने ? स्थिरता नभई मुलुकले फड्को मार्न सक्दैन” टेलिभिजनको ३८ औँ वार्षिकोत्सवको अवसरमा उहाँले भन्नुभयो । मुख्यमन्त्री गिरीले भन्नुभयो,– “३० वर्षमा २८ सरकार, काम गर्छ ? एउटा आउँछ पहिलेकाले गरेका काम रोक्छ, फेरि नयाँ सुरुवात गर्छ, यसरी विकास र समृद्धि हुन सक्दैन ।”

मुख्यमन्त्री गिरीले नेपालीले अहिले अङ्गालेको व्यवस्थाले स्थिर सरकार दिन नसक्ने भन्दै आर्थिक विकास र समृद्धिमा भने दलहरुबीच मिलेर, सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । “सरकार आउने र जाने ठूलो कुरा होइन” मुख्यमन्त्री गिरीले भन्नुभयो, “काम के गर्ने ? प्राथमिकता के हुने ? जनतालाई चाहिने कुरा के हुन ? प्रदेशलाई चाहिने कुरा के हुन ? यी विषयमा छलफल गरेर ठाउँमा पुग्नुपर्ने र अडिनुपर्ने अहिलेको जिम्मेवारी हो ।” 

मुख्यमन्त्री गिरीले प्रदेशको राजधानी स्थानान्तरण भई अस्थायी व्यवस्थापन र स्थायी संरचना निर्माणको काम अघि बढाइएको बताउनुभयो । राजधानीको व्यवस्थापनका कारण मन्त्री परिषद्ले पूर्णता पाउन समय लागेको मुख्यमन्त्री गिरीको भनाइ छ । आगामी ५ वर्षमा जनताले अपेक्षा गरेजस्तै जनताको साथमा सरकार छ भन्ने अनुभूति गराउने गरी काम भइरहेको उहाँको भनाइ छ । 

कार्यक्रममा लुम्बिनी प्रदेशका मन्त्री कृष्णा केसी, प्रदेश सांसदहरू रत्न खत्री, दुर्गा चौधरी, बसन्ती अधिकारी, बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले स्थानीय कला संस्कृतिको जगेर्नामा एनटीभी कोहलपुरको महत्त्वपूर्ण योगदान रहेको बताउनुभएको छ । 

कार्यक्रममा नेपाल टेलिभिजनका अध्यक्ष फुलमान वलले नेपाल टेलिभिजनले राज्यको प्राथमिकता र आवश्यकता परिपूर्तिमा सहयोग गरेको बताउनुभयो । छिट्टै खस, डोटेली र थारु भाषामा समाचार प्रसारण गर्न लागिएको र मगर तथा अवध भाषामा समाचार प्रसारणका लागि तयारी अघि बढाइएको जानकारी दिनुभयो ।