• ६ जेठ २०८१, आइतबार

एमबाप्पे घाइते भएको खेलमा पीएसजी विजयी

blog

गोल गरेपछि खुशी मनाउँदै लियोनल मेस्सी । तस्बिर : एएफपी

काठमाडौं, माघ २० गते । टोलीका प्रभावशाली खेलाडी केलियन एमबाप्पे घाइते भएपनि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा मोन्टेपेलियरविरुद्ध सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा पीएसजीले मोन्टेपेलियरलाई उसैको मैदानमा ३–१ गोलले हरायो । 

पीएसजीको जितमा फावियन रुइज, लियोनल मेस्सी र वारेन जाइरी एमेरीले गोल गर्नुभयो । मोन्टपोलियरका अर्नाड नोर्दिनले सानत्वना गोल फर्काउनुभयो । पीएसजीले नवौँ मिनेटमा पाएको पेनाल्टी गुमाएको थियो ।

सुरुवाती प्रहारमा चुक्नुभएका एमबाप्पे पुनः प्रदान गरिएको प्रहारमा पनि चुक्नुभएको थियो । २१औँ मिनेटमा चोट लागेपछि एमबाप्पे बाहिरिनु भएको थियो । त्यसपछि ५५औँ मिनेटमा फावियन रुइजले गोल गर्दै पीएसजीको उत्साह जगाउनुभयो । मेस्सीले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाउनुभयो । 

८९औँ मिनेटमा नोर्दिनले गोल गर्दै मोन्टपोलियरलाई खेलमा फर्काउने प्रयास गर्नुभयो । तर इन्जुरी समयमा एमेरीले गोल गर्दै पीएसजीलाई सजिलै जिताउनुभयो । जितसँगै शीर्षस्थानमा यथावत् रहेको पीएसजीले २१ खेलबाट ५१ अङ्क बनाएको छ । दोस्रो स्थानमा रहेको मार्सेलीको ४६ अङ्क छ । पीएसजीसँग पराजित मोन्टपेलियर २० अङ्कसहित १४औँ स्थानमा छ । एजेन्सी