• ११ मंसिर २०८१, मङ्गलबार

‘मिडियाकर्मीले स्वास्थ्य प्रवर्द्धन सेवालाई प्राथमिकता दिनुपर्छ’

blog

साबित्री गिरी

कोहलपुर, माघ १९ गते । मिडियाकर्मीले प्रचारात्मक सेवालाई मात्र जोड दिंदैआएको भए पनि अब स्वास्थ्य प्रवर्द्धन सेवालाई प्राथमिकता दिनुपर्ने सरोकारवालाले बताएका छन् । मिडियाकर्मी र स्वास्थ्यकर्मीका लागि नेपालगन्जमा बिहीबार आयोजित स्वास्थ्य प्रवर्द्धन सेवासम्बन्धी पैरवी कार्यक्रम सो कुरा बताउनुभएको हो । स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेश भालुवाङको आयोजनामा गरिएको कार्यक्रममा  वक्ताहरूले त्यस्तो बताउनुभएको छ ।

कार्यक्रममा स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका स्वास्थ्य शिक्षा निर्देशक भरतबहादुर कुँवरले शारीरिक, मानसिक, भावनात्मक तथा सामाजिक रूपमा स्वस्थ भए मात्र मानिस स्वस्थ हुने बताउनुभयो । अस्वस्थ जीवनशैलीका कारण मानिसहरू नसर्ने रोगको भागीदार भइरहेको उहाँको भनाइ छ । 

नेपाल पत्रकार महासङ्घ बाँकेका सचिव कमल डाँगीले स्वास्थ्य प्रवर्द्धनका लागि मिडियाले पैरवी गर्ने बेला आएको बताउनुभयो । यस्तै, नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले नसर्ने रोगको अवस्था अहिले विकराल बन्दैगएको बताउनुभयो । 

उहाँले मुटु, प्रेसरजस्ता नसर्ने रोग अहिले घातक बनेको भन्दै त्यसबारेमा पैरवी तथा उपचारलाई प्राथमिकता दिइएको बताउनुभयो । छिमेकी जिल्ला बर्दियामा नसर्ने रोगको उपचारका लागि पेन–प्लस कार्यक्रम नै सुरु भइसकेकाले बाँकेमा पनि यस्ता कार्यक्रमलाई अगाडि बढाउन जरुरी रहेको उहाँको भनाइ छ ।

कार्यक्रममा सहरी स्वास्थ्य प्रवर्धन केन्द्रका प्रमुख डा. शङ्कर केसी, नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतलगायतले बोल्नुभएको थियो । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालको अध्यक्षतामा कार्यक्रम भएको थियो ।