• ८ पुस २०८१, सोमबार

लेखापढी व्यवसायी आन्दोलित : मालपोतको काम प्रभावित

blog

महोत्तरी समाचारदाता 

महोत्तरी, माघ १९ गते । नेपाल लेखापढी कानुन व्यवसायीले महोत्तरीमा लेखापढीसम्बन्धी कामकाज बन्द गरेका छन्। लेखापढी कानुन व्यवसायी एसोसिएसन महोत्तरीले लेखापढी पेसागत व्यवसायीलाई समातेर प्रहरीले मुद्दा चलाएको विरोधमा बुधबारदेखि अनिश्चितकालसम्मका लागि कामकाज बन्द गरेका हुन्। लेखापढी व्यवसायीको बन्दका कारण मालपोत कार्यालयको कामकाज प्रभावित बनेको छ। 

मालपोत कार्यालयमा आउने सेवाग्राहीको लिखत भू–सेवाबाट तयार गरी कार्यालयमा जाँदा सिभिल डे«सका प्रहरीले पाँच जना लेखापढी व्यवसायीलाई पक्राउ गरी मुद्दा चलाएको विरोधमा कामकाज बन्द गराएको जनाइएको छ। 

एसोसिएसनका जिल्ला अध्यक्ष श्यामसुन्दर यादवले कुनै सूचना र पक्राउ पुर्जीबिना नै समातेर लेखापढी व्यवसायीलाई मुद्दा चलाएकोले विरोधमा उत्रिएको जानकारी दिनुभयो। मङ्गलबार जलेश्वर नगरपालिका–२ स्थित भूमिसुधार तथा मालपोत कार्यालय जलेश्वरमा आएका सेवाग्राहीलाई काम छिटो गराइदिने भनी घुस लिएको गोप्य सूचनाको आधारमा पक्राउ गरी प्रहरीले मुद्दा चलाएको छ।  

मटिहानी नगरपालिका–९ बस्ने ५२ वर्षीय अजिमउदिन अन्सारी, सोनमा गाउँपालिका–२ बस्ने ३५ वर्षीय रोशनकुमार यादव, जलेश्वर नगरपालिका–१ बस्ने ३० वर्षीय विक्रम चौधरी पक्राउ परेको प्रहरीले जनाएको छ। यसैगरी पक्राउ पर्नेमा औरही नगरपालिका–४ बस्ने ५४ वर्षीय सुरेश गोप र बलवा नगरपालिका–१० बस्ने ३८ वर्षीय अमितकुमार मल्लिक छन्। 

पक्राउ परेका पाँचै जनालाई जिल्ला प्रशासन कार्यालय महोत्तरी जलेश्वरमा उपस्थित गराई सार्वजनिक शान्तिविरुद्धको कसुर मुद्दामा सात दिन म्याद थप गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। 

बढी भीडभाड हुने सरकारी कार्यालयबाट सेवाग्राहीसँग बढी रकम असुल गरेको आरोपमा प्रहरीले दुई दिनदेखि कार्यालयमा सादा पोसाकमा खटिएका प्रहरीले लेखनदास तथा बिचौलियालाई पक्राउ गर्ने अभियान जारी राखेको छ। दुई दिनमा १० जना लेखनदास र बिचौलियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीले जानकारी दिनुभयो। सोमबार प्रहरीले जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट महोत्तरी गाउँपालिका–४ बस्ने नागेन्द्र पासवान, मटिहानी न.पा.–२ बस्ने उदयशङ्कर यादव, जलेश्वर नगरपालिका–२ बस्ने विनोद साह, विनोदकुमार महतो र रामगोपालपुर नगरपालिका–८ बस्ने विशम्भरप्रसाद साहलाई पक्राउ गरी सम्झाएर छाडिएको थियो। 

मालपोत कार्यालय महोत्तरीका प्रमुख इजहार आलमले लेखापढीको काम बन्दले सेवाग्राही र कार्यालय दुवैलाई मार परेको बताउनुभयो। उहाँले बिनालिखत भू–सेवा एउटा पनि काम नहुने र त्यसका लागि लेखापढी व्यवसायी आवश्यक पर्ने उल्लेख गर्दै लेखापढी व्यवसायीको आन्दोलनले कार्यालयको काम नै ठप्प भएको बताउनुभयो।