• १४ मंसिर २०८१, शुक्रबार

सेवाप्रवाह चुस्त बनाउने छौँ: परराष्ट्रमन्त्री

blog

काठमाडौँ, माघ १९ गते । नेपालको परराष्ट्र नीतिलाई थप छलफल गरेर सार्वजनिक गरिने भएको छ । दुई वर्षअघि बनेको परराष्ट्र नीतिमा व्यापक छलफल नभई मन्त्रालयको वेबसाइटमा राखिएको भन्ने गुनासो बढेका बेला परराष्ट्रमन्त्री विमला राई पौडेलले त्यसलाई थप केही छलफल र सुधार गर्नुपर्ने भएमा सुधार गरेर आम मानिसको पहुँचमा पु-याइने बताउनुभयो । 

मन्त्रालयले प्रदान गर्ने जनसेवालाई चुस्त बनाउने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो । बुधबार पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले मन्त्रालयमार्फत देशभित्र र देशबाहिर प्रदान गरिने सेवालाई जनताको पहुँचमा पु-याउने अभियान सुरु गरिसकेको जानकारी दिनुभयो । उहाँका अनुसार विद्युतीय राहदानी वितरणमा आइरहेको समस्या समाधान सुधारोन्मुख बाटोमा अग्रसर भएको छ । एक महिनाभित्र आवेदन दिएर राहदानीको बायोमेट्रिक गर्न सकिने गरी सेवा विस्तार गरिएको छ । त्योबाहेक बायोमेट्रिकको विविध विकल्पका बारेमा पनि थप छलफल जारी छ । 

त्यस्तै राहदानी वितरणको सेवालाई प्रदेशव्यापी रूपमा विकेन्द्रित गर्ने योजना मन्त्रालयले बनाएको छ । थप सुधारका योजना र भएका सुधारको फेहरिस्त छिट्टै सार्वजनिक गरिने मन्त्री पौडेलले जानकारी दिनुभयो । 

देशबाहिरका विभिन्न मुलुकमा पनि राहदानी वितरण सेवालाई सहज बनाउन पहल थालिएको बताउँदै उहाँले अत्यावश्यक परेका स्थानमा मोबाइल टोली खटाएर सेवा दिने गृहकार्य भइरहेको प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो, “पोर्र्चुगलमा झन्डै ६० जनालाई तत्काल राहदानी दिनुपर्ने आवश्यकता आएको छ, त्यसका लागि फ्रान्स वा स्पेन कताबाट सकिन्छ त्यताबाट मोबाइल टोली खटाउन पहल भइरहेको छ ।”