• ७ वैशाख २०८१, शुक्रबार

जुनार मेलामा थरिथरिका परिकार

blog

गोरखापत्र समाचारदाता

ललितपुर, माघ १७ गते । अमिलो प्रजातिको जुनारको स्वाद र परिकार चखाउने उद्देश्यले राजधानी काठमाडौँमा आयोजित तीन दिने जुनार मेला सम्पन्न भएको छ । 

मेलामा जुनार जुस, केक, आइसक्रिम, जुनार सलाद, क्रेप सुजेट, फ्रेस जुनारको जुस, हट जुनार जुस, हट जुनार जुसको साथमा रम र स्थानीय जौको रक्सीसँग जुनार जेस्टको फ्रेस स्वाद जस्ता परिकार राखिएको ग्रीन ग्रोथले जनाएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, ग्रीनग्रोथ नेपाल, स्टोरी साइकल र रैथानेले संयुक्त आयोजनामा कुपण्डोलस्थित रैथाने रेष्टुरेन्टमा जुनार मेला सञ्चालन गरिएको थियो ।

ग्रीनग्रोथका सञ्चालक सौरभ ढकालका अनुसार पहिलो कुरो त जुनार कस्तो खालको फल हो भनेर काठमाडौँवासीलाई चिनाउन नै पर्ने अवस्था छ । प्रायः ले नुन खुर्सानीमा साँधेर या जुस बनाएर जुनार खाने गरिए पनि जुनारबाट अन्य परिकार केके बनाउन सकिन्छ भन्ने जानकारी दिनका लागि समेत जुनार मेला गरिएको ढकालले बताउनुभयो ।

ग्राहकको माग बढेपछि ललितपुरको भनिमण्डलमा मङ्गलबार र कुसुन्तीमा बुधबार हुने  हाटमा समेत जुनार मेला सञ्चालन गरिने ग्रीन ग्रोथले जनाएको छ । ग्रीनग्रोथका सञ्चालक सौरभ ढकालका अनुसार उपभोक्ताले जुनारको उत्पादनदेखि बजारसम्मको यात्रा विवरण क्यूआर कोडबाट ट्रयाक गरेर हेर्न सक्छ । यो क्यूआर कोड स्क्यान गरेपछि उपभोक्ताले किन्दै गरेको जुनार कहाँको हो भन्ने जानकारी पाउँछ । खरिद गरेको जुनारमा कहिले मल हालेको, कहिले टिपेको, कति दूरी पार गरेर ल्याइएको हो ? जस्ता विवरण उपभोक्ताले पाउन सक्छ । यसमा जुनार उत्पादक कृषकको बारेमा जानकारी समेत राखिएको हुन्छ ।

सिन्धुलीको गोलञ्जोर गाउँपालिकाको चिसापानीका कृषकलाई यो प्रविधिमा समावेश गरिएको बताइन्छ । सिन्धुलीका ९ स्थानीय तहका अधिकांश क्षेत्रमा जुनार खेती गरिन्छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ, सिन्धुलीका अनुसार जुनार सुपर जोनअन्र्तगत सूचीकृत भएका लाभग्राही २९८ कृषकले १ हजार ४५ हेक्टरमा जुनार खेती गरिरहेका छन् । सिन्धुलीका ४ स्थानीय तह सुनकोसी–७ मझुवा, कमलामाई–३ जलकन्या, गोलञ्जोर–१ देखि ६ सम्म र तीनपाटन–७ तोश्रामखोलामा जुनार सुपर जोन परियोजना सञ्चालनमा छ ।


अमिलो जातको फलफूल सिट्रस वर्गमा पर्ने जुनार नेपालको एक मात्र मौलिक फल हो । रामेछाप र सिन्धुलीमा अत्यधिक फल्ने जुनार अहिले देशका विभिन्न भागमा फैलिएको छ । धनकुटा, बैतडी, डोटी, डडेलधुरा, ओखलढुंगा, लमजुङ, पाल्पा र रुकुममा मुख्यगरी जुनार खेती हुने गरेको छ ।