• १६ भदौ २०८१, आइतबार

'फरक क्षमता र अशक्त व्यक्तिका लागि सिंहदरबार प्रवेश सहज'

blog

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल । तस्बिर : न्युज एजेन्सी नेपाल

काठमाडौं, माघ १७ गते। श्रम मन्त्रालयले अशक्त तथा फरक क्षमता भएका व्यक्तिका लागि सिंहदरबार प्रवेश सहज बनाएको छ। 

मंगलवार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रम मन्त्रालयको सिफारिसमा गृह मन्त्रालयसँगको सहकार्यमा अशक्त तथा फरक क्षमता भएका व्यक्तिका लागि सिंहदरबार प्रवेशमा सहज बनाएको बताउनुभयो। 

उहाँले सबै नेपाली नागरिकलाई सिंहदरबार प्रवेश गर्न पाउने नैसर्गिक अधिकार भएकाले सोही अधिकार प्राप्तिको लागि  अशक्त तथा फरक क्षमता भएका व्यक्तिका लागि सिंहदरबार प्रवेशमा सहज बनाएको दाबी गर्नुभयो। 

मन्त्री अर्यालले सोमबारदेखि लागू हुनेगरी कालो नम्बर प्लेट भएका सार्वजनिक सवारीलाई निर्वाधरुपमा सिंहदरबार छिर्न पाउने व्यवस्था गरिएको बताउनुभयो। उहाँले अशक्त तथा फरक क्षमता भएका व्यक्तिलाई बोकेर सिंहदरबार छिर्ने सार्वजनिक सवारी अब सिंहदबारमा नरोकिने जानकारी दिनुभयो। 

उहाँले आफ्नो छुट्टै सावरी साधन नभएका अशक्त तथा फरक क्षमता भएका व्यक्तिका लागि सिंहदरबार छिर्न बञ्चित हुन नपर्ने बताउनुभयो। मन्त्री आर्यालले वैदेशिक रोजगारीमा जानेहरुलाई लक्षित गरेर राखिएको छुट्टै डेस्क हटाएको बताउनुभयो। 

उहाँले अबदेखि विद्यार्थी भिसा, पर्यटन भिसा, व्यवसायिक भिसा र वैदेशिक रोजगारीको भिसामा जानेको लाइन एउटै हुने बताउनुभयो। मन्त्री अर्यालले सोमबारदेखि नै लागू हुनेगरी वैदेशिक रोजगारीमा जानरुका लागि छुट्याइएको विभेदकारी डेस्क हटाएको बताउनुभयो। उहाँले वैदेशिक रोजगारीमा जानेलाई लक्षित गरेर राखिएको डेस्कले विदेशमा रोजगारीका लागि जाने नेपालीको आत्मबलमा ठेस पुगेको बताउनुभयो।

उहाँले भन्नुभयो,‘‘सिंहदरबार आफैँमा देशको नीति नियम र कानुन बनाउने र प्रधानमन्त्री लगायत सम्पूर्ण मन्त्रालय रहेका छन्। केही फरक क्षमता भएका तथा अशक्त व्यक्ति सिंहदरबारको गेटबाट भित्रसम्म हिँड्न सक्नुहुन्न। उहाँहरुसँग रातो र सेतो नम्बर प्लेटका सवारी नहुन सक्छ। उनीहरु भाडाका सवारी चढेर सेवा लिन आउनुपर्ने हुन्छ। उनीहरुले सिंहदरबारबाट सेवा लिन पाउने नैसर्गिक अधिकार हो जस्तो लाग्छ। गृह मन्त्रालयसँगको समन्वयमा अशक्त र फरक क्षमता भएका व्यक्तिलाई बोकेर सार्वजनिक सवारी सोमबारदेखि लागू हुनेगरी सिंहदरबार भित्रै छिर्ने व्यवस्था गरिएको छ। यो श्रम मन्त्रालयको पहलमा गृह मन्त्रालयको सहमतिमा गृह मन्त्रालयले निर्णय गरेको छ।’’

मन्त्री अर्यालले श्रम मन्त्रालयमा रहेको कल सेन्टरलाई नेपालभित्र र बाहिर रहने श्रमिकसँग सम्बन्धित भएकाले समस्या एकद्वार प्रणालीबाट समाधान गर्ने उद्देश्यले २४ घण्टा श्रम सहायता केन्द्रको रुपमा रुपान्तरण गरेको बताउनुभयो। उहाँले श्रमिकका गुनासो र समस्या सुन्नको लागि ६ महिनाभित्र श्रमदान मोबालइल एप र श्रम सम्बन्धी सम्पूर्ण कार्यको टाइम कार्ड लागू गरिने बताउनुभयो।

श्रम सम्बन्धमा आएका गुनासा ६ महिना भित्र समाधान गर्ने गरी मन्त्रालय कार्ययोजना बनाएको बताउनुभयो। उहाँले ६ महिनामा पनि समस्या समाधान नभए कारणसहित कर्मचारीसँग जानकारी लिने बताउनुभयो।