• ११ मंसिर २०८१, मङ्गलबार

अल्लो कपडा उद्योगमा चरेशको व्यापार

blog

चरेशसहित पक्राउ परेकालाई सार्वजनिक गर्दै प्रहरी।

अविनाश चौधरी

धनगढी, माघ १७ गते। कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित एक कपडा उद्योगमा लागुऔषध चरेशको व्यापार हुने गरेको पाइएको छ। 

दार्चुलाको नौंगाड गाउँपालिका–२ का ३४ वर्षीय नरेन्द्रसिंह धामीले खोेलेको शंकर अल्लो कपडा उद्योगमा चरेशको कारोबार हुने गरेको पाइएको हो। प्रहरीले धामीको कपडा पसल उद्योगबाट मङ्गलबार ११ केजी ९०० ग्राम चरेश र डिजिटल तराजु एक वटा बरामद गरेको छ। 

तालुक प्रदेश प्रहरी कार्यालयबाट प्रहरी वरिष्ठ नायब निरीक्षक केशव जोशीको कमाण्डमा खटेको आरआइटी टोली र जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरीको संयुक्त टोलीले कपडा उद्योगबाट चरेश बरामद गरेको हो। 

प्रहरीले कपडा उद्योगका सञ्चालक धामीसहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नौँगाड गाउँपालिका–२ कै २० वर्षीय रुकुमसिंह धामी, बझाङको केदारेस्युँ गाउँपालिका–७ का ४२ वर्षीय धनबहादुर धामी र बाजुराको स्वामीकार्तिक गाउँपालिका–२ घर भइ हाल कैलालीको बर्दगोरिया–४ बा बस्दै आएका ३५ वर्षीय धनलाल कामी रहेका छन्। पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो।