• ६ वैशाख २०८१, बिहिबार

संस्कृति मन्त्री किरातीको प्रश्न ‘भगवानमाथि भ्रष्टाचार गर्ने ?’

blog

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती ।

काठमाडौं, माघ १७ गते। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले सफा पशुपति, पवित्र पशुपति नारासहित एक महिनाभित्र पशुपति क्षेत्र सफा गर्न निर्देशन दिनुभएको छ। 

मंगलबार पशुपति क्षेत्र विकास कोषको अनुगमनका क्रममा विकास कोषका कर्मचारीलाई सफा पशुपति पवित्र पशुपति नारासहित एक महिनाभित्र पशुपति क्षेत्र सफा गर्न निर्देशन दिनुभएको हो। 

उहाँले पशुपति क्षेत्र असाध्यै फोहोर रहेकाले सबैभन्दा पहिलो प्राथमिकता दिएर पशुपति सफा गर्न आग्रह गर्नुभयो। उहाँले पशुपति परिसरमा रहेका शौचालय एकदमै फोहोर भएको भन्दै शौचालयको सरसफाइमा विशेष ध्यान निर्देशन दिनुभएको हो। उहाँले पशुपति क्षेत्र विकास कोषले पशुपति विकासका लागि गर्ने कामको तत्कालीन,अल्पकालीन र दीर्घकालीन क्यालेन्डर बनाउन आग्रहसमेत निर्देशन दिनुभयो। 

उहाँले मन्त्रालयले क्यालेन्डर अनुसार काम भए/नभएको आवश्यकता अनुसार अनुगमन गर्ने पनि बताउनुभयो। मन्त्री किरातीले पशुपति जस्तो पवित्र स्थानमा बसेर अपवित्र काम गर्नेलाई दण्डित गर्ने चेतावनी दिनुभयो। 

उहाँले पशुपति जस्तो पवित्र स्थान पाएर पनि नेपालले राम्रोसँग प्रयोग गर्न नसकेको भन्दै  विकास कोषको ज्ञान, क्षमता र संस्कृतिमाथि गम्भीर प्रश्न उठेको बताउनुभयो। उहाँले पशुपति क्षेत्र विकास कोषले कल्याणकारी काम गर्नसक्ने भन्दै कोषले विश्वविद्यालय, अस्पताल र विद्यालय सञ्चालन गर्नु सामान्य काम भएको बताउनुभयो। मन्त्री किरातीले पशुपति जस्तो ठूलो आध्यात्मिक आस्थाको केन्द्रमा बसेर गैर आध्यात्मिक र अराजकता गर्ने छुट कसैलाई नभएको बताउनु भयो। 

उहाँले भन्नुभयो,‘‘पशुपति जस्तो पवित्र स्थान पाएर पनि हामीले राम्रोसँग प्रयोग गर्न सकेका छैनौँ। हाम्रो ज्ञान, क्षमता र संस्कृतिमाथि गम्भीर प्रश्न बनेको छ। पशुपति क्षेत्र विकास कोषले कल्याणकारी काम पनि गर्नसक्छ। पशुपति क्षेत्र विकास कोषले विश्वविद्यालय चलाउनुपर्ने हो। अस्पताल र विद्यालय सञ्चालन गर्नु सामान्य काम हो। कति काम भएको छ। म एक पटक पशुपतिनाथसँग कोषको अध्यक्ष भएर माफी माग्छु। हामीले पशुपतिको सम्मानलाई चिन्न सकेनौँ। सबैको गल्तीको नेतृत्व गर्दै क्षमा माग्दै अब हामी त्यस्तो गल्ती गर्दैनौँ। पवित्र स्थानमा बसेर अपवित्र काम गर्ने हामी को हौँ। यति ठूलो आध्यात्मिक आस्थाको केन्द्रमा बसेर हामी यहाँ भन्दा गैर आध्यात्मिक अराजकता कहाँ हुन्छ। त्रिशूलले डामेर छोड्ने साँढे जस्तै छौँ। पद पाएपछि डामे जस्तो अब यस्तो सह्य हुँदैन। अब काम भए दया र बेइमान भए दण्ड हुन्छ। हामी सबैको माया प्रेम काम, परिणाम हुन्छ। पशुपति विकास कोषले क्यालेन्डर बनाएर हामीलाई बुझाउनुपर्छ।’’

मन्त्री किरातीले मन्त्री र सचिवलाई पैसा दिनुपर्ने भन्दै पशुपतिमा फूल महँगोमा बेच्ने गरिएको गुनासो आएकाले त्यसबारे नियमन गर्न निर्देशन दिनुभयो। उहाँले कुन सरकारको पालामा कुन मन्त्री र सचिवले पैसा लिए ? नाम दिए पत्रकारको सामु पढेर सुनाउने बताउनुभयो। उहाँले एउटा सटर भाडामा लगाउन लाखौँको डिल हुने गरेको सुन्नमा आएको भन्दै अब त्यस्तो कुरा सुनिए तत्काल कारबाही गर्ने चेतावनी दिनुभयो। उहाँले भगवानमाथि भ्रष्टाचार गर्ने भन्दै प्रश्नसमेत गर्नुभएको छ।


उहाँले भन्नुभयो, ‘‘पशुपतिमा धेरै अपवित्र कुरा सुनिन्छ। म यो हो त्यही हो भन्दिन। तर पशुपतिमा फूल बेच्नेले महँगोमा बेच्दा किन महँगोमा बेचेको भन्दा मन्त्री र सचिवलाई पैसा बुझाउनुपर्छ भनिन्छ अरे ? एउटा सटर भाडामा लगाउन लाखौँको डिल हुन्छ। यहाँको फोटो खिच्ने कहाँ गए। प्रमाण पेस गर्नु नपरोस्। एक, दुई लाख, पाँच लाख होर डिलिङ २० लाख पनि होइन लाखौँ लाख के सुन्नुपरेको पशुपतिनाथमा मैले ? कुन चाहिँ मन्त्रीलाई पैसा दिनुभयो मलाई नाम दिनु पत्रकारसँग पढेर नाम सुनाउँछु। भगवानमाथि भ्रष्टाचार गर्ने ? किन फूल व्यापारीसँग पैसा उठाइन्छ कसले उठाउँछ। पैसा उठाएर मन्त्री र सचिवलाई पैसा बुझाउने भनेर बदनाम गरिन्छ। दूधको दूध पानीको पानी पशुपतिनाथको माटोमा उभिएर भन्नुपर्छ। अन्तर्राष्ट्रिय स्तरको कोषको कार्यालयको गति यस्तो छ। यहीदेखि हाम्रो क्षमता र योग्यता प्रदर्शन भयो। मान्छे पोल्ने काममा समेत शोषण हुन्छ भनेपछि कसरी मन बुझाउनु हो। मान्छे मरेको छ। मान्छे मरेको परिवारको लागि त्यो भन्दा ठूलो दशा के हुन्छ ? पशुपतिको साथीहरू भेट्दा पशुपतिको शक्तिसहित आध्यात्मिक दर्शनले उज्यालो बत्ती जस्तै बलेको देख्नुपरे मैले। जो भेट्यो बाउ मरेर क्रियापुत्री बसेको जस्तो। सन्तोष कोही छैन। गुनासो भन्दा केही छैन। पशुपति कोषमा काम गर्ने मान्छे बत्ती जस्तो बलेको देखिनुपर्छ।’’

मन्त्री किरातीले मान्छे पोल्ने काममा समेत शोषण हुने गरेको विषय सुनेको भन्दै शोषण अन्त्य गर्न निर्देशन दिनुभयो।