• ११ असोज २०८१, शुक्रबार

हिरासतबाट थुनुवा फरार प्रकरण : तीन प्रहरी निलम्बित

blog

हिरासतबाट थुनुवा फरार भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगर । तस्बिर : विजयकुमार साह

विजयकुमार साह
ढल्केवर, माघ १७ गते । 
 धनुषाको महेन्द्रनगरस्थित इलाका प्रहरी कार्यालयको हिरासतबाट थुनुवाहरू फरार भएपछि तीन जना प्रहरी निलम्बनमा परेका छन् । हिरासत कक्षका अधिकृत अशोक मण्डल, प्रहरी हवल्दार सरोज रेग्मी र प्रहरी जवान रोहन मगरलाई निलम्बन गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता सुमन तिम्सिनाले बताउनुभयो ।

यसका साथै इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रहरी निरीक्षक बेचन यादवसहित सम्पूर्ण प्रहरी टोलीलाई जिल्लामा तानिएको छ । अहिले सो ठाउँमा तत्कालका लागि इन्चार्जका रूपमा प्रहरी नायब निरीक्षक मुक्तिनारायण चौधरीलार्ई पठाइएको छ ।

प्रहरी निरीक्षक यादवलाई हटाइएको छैन । अनुसन्धान पश्चात् यादवलाई जिम्मेवारीबाट मुक्त गरिने वा निलम्बन गरिने विषयमा निर्णय लिइने प्रवक्ता तिम्सिनाले जानकारी दिनुभयो ।

यता, इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतबाट फरार भएका छ जनामध्ये एक जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । फरारमध्ये रोशन महतोलाई प्रहरीले पक्राउ गरेको हो ।

महतोलाई सोमबार साँझ यसै जिल्लाको मिथिला नगरपालिका–८, कुसुमबिछौनास्थित आफन्तको घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो । 

महतोमाथि अवैध हातहतियारको मुद्दा चलिरहेको छ । उनलाई गत बिहीबार प्रहरीले हतियारसहित पक्राउ गरी शनिबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो ।

सोही अवैध हातहतियार कसुरमा सँगै पक्राउ परेका शङ्कर र विभिन्न मुद्दाका अन्य चार जना गरी पाँच जना अझै फरार अवस्थामा छन् । फरार हुनेहरूमा विनोदकुमार शर्मा, अमित मण्डल, रोशन यादव, हरिदीप सिंह र शङ्कर सिंह छन् । उनीहरूको खोजी कार्य तीव्ररुपमा भइरहेको प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षको पर्खाल फोडेर आइतबार राति ३ बजे छ जना थुनुवा फरार भएका थिए । एकसाथ छ जना थुनुवा हिरासतबाटै फरार भएपछि  घटना सम्बन्धमा अनुसन्धानका लागि  जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयले छुट्टाछुट्टै छानबिन समिति बनाएका छन् ।

प्रदेश प्रहरी कार्यालयले एसएसपी मनोजकुमार यादवको संयोजकत्वमा समिति गठन गरिएको छ भने जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

लागूऔषध, हातहतियार, अभद्र व्यवहारका गरी सात जना थुनुवामध्ये छ जना थुनुवा हिरासत कक्षको पर्खाल भत्काएर फरार भएका थिए । पुरानो भवनमा रहेको हिरासत कक्षको शौचालयको ढोका फोरेर ढोकाको बिँड लिएर पर्खालबाट इँटा झिकेर थुनुवाहरू भागेको प्रहरी प्रवक्ता क्षेत्रीले बताउनुभयो ।