• १२ मंसिर २०८१, बुधबार

अन्तर बैङ्क एटिएम शुल्क घट्यो, मासिक दुई कारोबार निःशुल्क नहुने

blog

काठमाडौं, माघ १७ गते । नेपाल राष्ट्र बैङ्कले अन्तर बैङ्क एटिएम शुल्क घटाएको छ । एउटा बैङ्कको एटिएम कार्ड अर्को बैङ्कको एटिएममा प्रयोग गरी पैसा झिक्दा लाग्ने शुल्क घटेको हो ।

राष्ट्र बैङ्कले ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०७९’ जारी गर्दै बैङ्क तथा वित्तीय संस्थाले जारी गरेका भुक्तानी कार्ड स्वदेशभित्रै अर्को बैङ्क तथा वित्तीय संस्थाको एटिएम प्रयोग गर्दा प्रतिकारोबार बढीमा रु १५ सम्म शुल्क लिन सकिने जनाएको छ ।

यसअघि एउटा बैङ्कले जारी गरेको एटिएम कार्ड अर्को बैङ्क तथा वित्तीय संस्थाको एटिएम प्रयोग गर्दा मासिक न्यूनतम दुईवटा कारोबारसम्म निःशुल्क हुने र दुईभन्दा बढी कारोबारको हकमा प्रतिकारोबार रु २० सम्म शुल्क लिन सकिने व्यवस्था थियो । तर अहिले मासिक दुई वटासम्म कारोबार निःशुल्क पाउने व्यवस्था भने हटाइएको छ ।

राष्ट्र बैङ्कले विद्युतीय वालेटको माध्यमबाट गरिने रकमान्तर तथा भुक्तानीको सीमामा पनि संशोधन गरेको छ । यसअघि बैङ्क खाताबाट वालेटमा प्रतिदिन रु ५० हजारसम्म रकमान्तर गर्न सकिने व्यवस्था रहेकोमा त्यसलाई बढाएर प्रतिदिन रु दुई लाखसम्म रकम पठाउन सकिने व्यवस्था ल्याइएको छ ।

त्यस्तै, वालेटबाट अन्य बैङ्कको खातामा पनि प्रतिदिन रु दुई लाखसम्म पठाउन सकिनेछ । यसअघि प्रतिदिन रु ५० हजार मात्रै पठाउन सकिने व्यवस्था थियो ।

एक वालेटबाट अर्को वालेटमा पैसा पठाउँदा यसअघि एकदिनमा रु २५ हजारसम्म मात्रै पठाउन सकिने व्यवस्था रहेकोमा त्यसलाई बढाएर प्रतिदिन रु ५० हजारसम्म पठाउने सकिने व्यवस्था ल्याइएको छ । यद्यपि प्रतिमहिना गर्न सकिने कारोबारको सीमा भने यावत राखिएको छ ।

मोबाइल बैङ्किङ तथा इन्टरनेट बैङ्किङको माध्यमबाट गरिने भुक्तानी कारोबारको सीमा पनि बढाइएको छ । मोबाइल बैङ्किङ (क्युआर कोड समेत) बाट यसअघि प्रतिदिन रु दुई लाखसम्म कारोबार गर्न सकिने व्यवस्था रहेकोमा त्यसलाई बढाएर प्रतिदिन रु तीन लाखसम्म कारोबार गर्न सकिने बनाइएको छ ।

सरकारको राजस्व व्यवस्थापन सूचना प्रणाली (आरएमआइएस) मा आबद्ध भएका भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेको वालेटमार्फत सञ्चालन गरिने राजस्व भुक्तानी सम्बन्धी कारोबारमा लाग्ने शुल्कसम्बन्धी व्यवस्था पनि संशोधन भएको छ ।

यसअघि रु तीन हजारसम्मको कारोबारमा रु पाँच शुल्क लाग्ने गरेकामा अब सोही शुल्कमा रु पाँच हजार सम्मको कारोबार गर्न सकिनेछ । त्यस्तै रु पाँच हजार एकदेखि रु १० हजारसम्मको कारोबारमा रु आठ शुल्क लाग्नेछ । यसअघि रु तीन हजार एकदेखि रु १० हजारसम्मको कारोबारमा रु आठ शुल्क लाग्ने गरेको थियो । रु १० हजार एकभन्दा माथिको सबै कारोबारमा रु २० शुल्क लाग्ने गरेकोमा त्यस्तो शुल्क घटाएर रु १० बनाइएको छ ।

बैङ्क तथा वित्तीय संस्थाले ग्राहकलाई उपलब्ध गराउने विभिन्न कार्डका बारेमा जानकारी गराई क्रेडिट, डेबिट र प्रिपेड कार्डलगायतका विद्युतीय भुक्तानी कार्ड आफै छनौट गर्न पाउनेछन् । यस्तो कार्ड जारी गर्दा ग्राहकहरूसँग आवेदन फारमसँगै कार्ड जारी गर्दा र कारोबारमा लाग्ने शुल्क, कारोबारको सीमा, कार्डको प्रयोग गर्दा लाग्ने ब्याजदर र कार्डबाट प्राप्त हुने अन्य सुविधालगायत विषय समेटिएको सूचनामूलक सामाग्री प्रदान गर्नुपर्नेछ ।

विद्युतीय कार्डबाट हुने कारोबारको सेटलमेन्टसम्बन्धी व्यवस्थामा पनि परिवर्तन गरिएको छ । बैङ्क तथा वित्तीय संस्थाहरूले जारी गरेका विभिन्न भुक्तानी कार्डबाट नेपालमा नेपाली रुपैयाँमा गरिने कारोबारको फर्छ्यौट नेपालभित्रै गर्ने व्यवस्था मिलाउनुपर्नेछ ।

साथै यस्तो प्रयोजनका लागि अन्तर्राष्ट्रिय स्विचहरूको लागि कुनै जमानत/बन्ड जारी गर्नुपर्ने भएमा नेपाली रुपैयाँमै गर्नुपर्ने व्यवस्था पनि राष्ट्र बैङ्कले ल्याएको छ ।

निर्देशिकामार्फत भुक्तानी सेवा प्रदायक संस्थाले विप्रेषण कम्पनीसँग सम्झौता गरी विदेशबाट आप्रवाह हुने रकम नेपालमा सञ्चालित विद्युतीय वालेटमा जम्मा हुने गरी रेमिट्यान्स गर्न सकिने व्यवस्था ल्याइएको छ । यसरी रेमिट्यान्स प्राप्त गर्दा भने वालेटमा रकम जम्मा गर्न तोकिएको सीमाको हदबन्दी लाग्नेछैन ।