• ७ जेठ २०८१, सोमबार

घुमघाम

कर्णालीका विद्यार्थीको काठमाडौँ घुमघाम

blog

कर्णाली प्रदेशको राजधानी सुर्खेत आइपुग्न पनि कर्णालीका विद्यार्थीलाई मुस्किल नै हुन्छ । तैपनि ससाना विद्यार्थी उत्साहपूर्वक काठमाडौँ आइपुगे । पहिलो पटक घुम्न पाउँदा उनीहरू असाध्यै खुसी भए । उनीहरूसँगै अभिभावकले पनि रमाएर घुमे । कर्णालीका आठ जना विद्यार्थी हवाईजहाज चढेर आउन पाउँदा भने दङ्ग थिए । 

दैलेखको गुराँस गाउँपालिकाका डिलकुमारी पुनमगर कक्षा १० मा पढ्नुहुन्छ । उहाँ लालीगुराँस बाल क्लबको अध्यक्ष भएर काम गरिरहनुभएको छ । आफ्नो विद्यालय, वडा र गाउँमा हुने बालबालिकासम्बन्धी हरेक कार्यक्रममा उहाँको उपस्थिति हुन्छ । बाल हिंसा, महिला हिंसा अनि समाजका नकारात्मक विषयको विरुद्धमा आवाज उठाउने डिलकुमारीलाई काठमाडौँ आउने र यहाँका ऐतिहासिक सम्पदा तथा प्रशासनिक र न्यायिक क्षेत्रको भ्रमण गर्ने अवसर जु-यो । पहिलो पटक जहाज चढेर काठमाडौँ आइपुग्दा उहाँले झन् धेरै खुसी व्यक्त गर्नुभयो । 

कुशे गाउँपालिका कर्णाली प्रदेशको जाजरकोटको प्रतिमा रोकाया पनि पहिलो पटक प्लेन चढेर काठमाडौँ आउन पाउँदा निकै खुसी देखिनुहुन्थ्यो ।  प्लेनबाट देखिने हिमाल, बादल, डाँडाकाँडाले त झन् मनै आनन्दित बनायो ।  पहिलो पटक जन्मभूमि नेपाल आकाशबाट हेरेँ प्रतिमाले भन्नुभयो । 

पहिलो पटक काठमाडौँ अन्तर्राष्ट्रिय विमानस्थल टेक्दा खुसी लाग्यो । काठमाडौँमा त घरै घर, गाडी नै गाडी हेर्दा रिङ्गटा नै लाग्ने जस्तो रहेछ उहाँले अनुभव सुनाउनुभयो । बालबालिकाले सिंहदरबार, नेपाल टेलिभिजन, सङ्घीय संसद् भवन, सर्वोच्च अदालत, ग्रान्डी अस्पताल, त्रिभुवन विश्वविद्यालय, महावीर पुनको आविष्कार केन्द्रजस्ता स्थलहरू भ्रमण गरे । 

प्रकाश विक शुभकालिका गाउँपालिका कालीकोटमा कक्षा ९ मा पढ्नुहुन्छ ।  प्रकाशले पनि काटमाडौँ आउने सपना  पूरा भएकोमा खुसी लागेको बताए । हाम्रो गाउँमा एउटा सबैभन्दा ठूलो डाँडा छ, मलाई त्यही डाँडा ठूलो लाग्थ्यो तर 

त्योभन्दा ठूलो त काठमाडौँमा  घरैघर रहेछ । प्रकाशले सुनाउनुभयो । टेलिभिजनमा देखेको सिंहदरबार र संसद् भवन देख्दा आफ्नै आँखाले देख्न पाउँदा अच्चम्म लाग्यो उहाँलाई । 


काठमाडौँमा रुख पनि कम रहेछ ।  धेरै मानिस, धेरै गाडी, ठूला ठूला मलहरू । गाउँभन्दा त कति रमाइलो लाग्यो मलाई, जाजरकोट छेडेदह–१२ का जयन्ता खत्रीले रमाइलो अनुभव सुनाउनुभयो ।   जाजरकोटको भेरी नगरपालिका–२ का मनिषा वलि, आठबीसकोट–४, दैलेखका राधिका माझी, तिलागुफा–४, कालीकोटका मनीषा शाही, सुर्खेतका गौमायाँ अधिकारीसहित कर्णालीका आठ जना बालबालिका काठमाडौँ आएका थिए । उनीहरूसँग अभिभावक पनि सँगै थिए । छोराछोरीसँग अभिभावक पनि पहिलो पटक काठमाडौँ आउनुभएको थियो । छोरीको साथ लागेर आफू पनि काठमाडौँ आउन पाउँदा र यहाँका महत्वपूर्ण स्थलहरू घुम्न पाउँदा खुसी लागेको प्रतिक्रिया आमाहरूको थियो । छोराछोरीको साथमा लागेर यसरी काठमाडौँ आउन पाइयो, यहाँका घर, गाडी, मानिस, सिंहदरबार, संसद् भवन, अदालत देख्न पाइयो, यस्तो त अब फेरि कहाँ पाइएला र देख्न ? अभिभावकहरूको भनाइ थियो ।

उनीहरूलाई आफ्नो गाउँबाट विद्यालयसम्म ल्याउने अवसर सेभ द चिल्ड्रेनले गरेको थियो ।  सेभ द चिल्ड्रेनका परियोजना संयोजक वीरेन्द्र थापा भविष्यका लागि अपरम्पार सम्भावना बोकेका भाइबहिनीलाई थप अनुभवी बनाउन अनि उनीहरूमा उत्साह र प्रेरणा थप्नका लागि काठमाडौँ घुमाउने योजना ल्याएको बताउनुभयो । 

लेखक बाट थप