धनगढी समाचारदाता
धनगढी, मङ्सिर ९ गते । सुदूरपश्चिम प्रदेशमा औद्योगिक क्षेत्रमा कर्जा प्रवाह बढे पनि औद्योगिक उत्पादनमा ह्रास आएको छ ।
नेपाल राष्ट्र बैङ्कको आर्थिक वर्ष २०८१/८२ को आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन अनुसार २०८२ को असार मसान्तसम्म बैङ्क तथा वित्तीय संस्थाले यस प्रदेशमा औद्योगिक क्षेत्रमा गरेको कर्जा प्रवाह २६ अर्ब ७२ करोड पुगेको छ ।
बैङ्क तथा वित्तीय संस्थाले २०८१ असार मसान्तसम्म गरेको कर्जा प्रवाहभन्दा यो ४.३७ प्रतिशतले बढी रहेको प्रतिवेदनमा उल्लेख छ । २०८१ सालमा सो कर्जा ४.७९ प्रतिशतले घटेको थियो । बैङ्क तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कुल कर्जाको अंश १६.९७ प्रतिशत पुगेको जनाइएको छ ।
कैलालीमा सबैभन्दा बढी ७९.१३ प्रतिशत, कञ्चनपुरमा १५.७३, डडेलधुरामा १.५४ प्रतिशत, डोटीमा १.०३, अछाममा ०.६०, बैतडीमा ०.५९, दार्चुलामा ०.४८ र बझाङमा ०.४६ प्रतिशत औद्योगिक कर्जाको अंश रहेको छ । प्रतिवेदन अनुसार औद्योगिक कर्जामध्ये विद्युत्, ग्यास तथा पानीसम्बन्धी उद्योगमा सबैभन्दा बढी ६७.५५ प्रतिशतले वृद्धि भएको छ । खानीसम्बन्धी उद्योगमा भने ३७.८३ प्रतिशतले कर्जा ह्रास आएको जनाइएको छ ।
औद्योगिक क्षेत्रमा कर्जा प्रवाह बढे पनि उत्पादनमा ह्रास आएको छ । प्रतिवेदन अनुसार गहुँको पिठो उत्पादनमा ६५.०९ प्रतिशत, चिनी उत्पादनमा ६०.२२ प्रतिशत, इँटा उत्पादनमा ४२.२५ प्रतिशतले ह्रास आएको छ । त्यस्तै साबुन उत्पादनमा २३.८२ प्रतिशत, चामल उत्पादनमा १५.२५ प्रतिशत, रोजिन उत्पादनमा ८.८६ प्रतिशत, कङ्क्रिट उत्पादनमा ६.८६ प्रतिशत र तोरीको तेल उत्पादनमा ४.३५ प्रतिशतले कमी आएको छ ।
आव २०८१/८२ यस प्रदेशको नमुना छनोटमा समेटिएका उद्योगको औसत क्षमता उपयोग ३४.४७ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । बजारमा देखिएको आर्थिक शिथिलताका कारण कर्जाको समष्टिगत मागमा कमी आई थप लगानी हुन नसकेका कारण औद्योगिक उत्पादन र क्षमता दुवैमा ह्रास आएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदन अनुसार कुल औद्योगिक कर्जामध्ये कृषि, वन र पेय पदार्थ उत्पादनसम्बन्धी उद्योगमा ४२.७१ प्रतिशत, गैरखाद्यवस्तुसम्बन्धी उद्योगमा २६.०५ प्रतिशत कर्जा प्रवाह गरिएको छ । यस्तै निर्माणसम्बन्धी उद्योगमा २०.२१ प्रतिशत, धातुको उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक उद्योगमा ८.९२ प्रतिशत, विद्युत्, ग्यास तथा पानी उद्योगमा १.६३ प्रतिशत, खानीसम्बन्धी उद्योगमा ०.४८ प्रतिशत कर्जा प्रवाह गरिएको छ ।
औद्योगिक क्षेत्रका लागि व्यवसायीले कर्जा बढाए पनि असुरक्षाका कारण उत्पादनमा वृद्धि गर्न नसकिरहेको कैलाली उद्योग वाणिज्य सङ्घका सचिव प्रकाश चन्दको भनाइ छ । मुलुकको राजनीतिक अस्थिरताका कारण विभिन्न समूहले आएर तोडफोड गर्ने, चन्दा माग्ने जस्ता घटनाले उद्योगी व्यवसायी त्रसित रहेको उहाँको भनाइ छ । “राज्यले उद्योगी व्यवसायीलाई सुरक्षा दिन सकेको छैन,” सचिव चन्दले भन्नुभयो, “यहाँ असुरक्षा भएका कारण उनीहरू विदेश पलायन भइरहेका छन् । लगानी पनि त्यतै गरिरहेका छन् ।”