बबई समाचारदाता
बबई (बर्दिया), मङ्सिर ९ गते । नेपाल–भारत सीमाक्षेत्र हुँदै भारतीय माछाको अवैध आयात हुने क्रम बढेपछि बर्दियाका माछापालक कृषक मारमा परेका छन् । भारतीय बजारबाट अत्यन्तै सस्तो मूल्यमा माछा नेपाल छिरेपछि नेपाली किसानले उत्पादन गरेको माछा बजारसम्म नपुगेको गुनासो बढ्दै गएको छ ।
कृषकका अनुसार भारतको मैनापोखर, कण्ठपुर, शीतलाबजारलगायतका क्षेत्रमा उत्पादन हुने माछा अवैध रूपमा बर्दिय ल्याइने गरिएको छ । भारतीय माछा सिधै नेपाली बजारमै बिक्री हुने र भारतमा सस्तो पाइने भएकै कारण तस्करी झनै बढेको उनीहरूको भनाइ छ । गुलरिया नगरपालिका–७ का पप्पु धोबीले भन्नुभयो, “भारतीय माछा ल्याउनेलाई समातेर प्रहरीलाई बुझाउँदा पनि कारबाही नहुँदा समस्या झन् बढेको छ ।” उहाँका अनुसार नियन्त्रण नहुँदा नेपाली किसानले आफ्नो उत्पादन बेच्ने ठाउँ नै गुमाएका छन् ।
गुलरिया–४ का माछापालक किसान शङ्कर घिमिरेले भन्नुभयो, “उत्पादन गरे पनि बजार नपाउँदा किसानको आर्थिक बोझ बढिरहेको छ ।”
भारतीय बजारमा माछाको दाना प्रतिकेजी ४० रुपियाँ पर्दा पनि नेपालमा सोही दाना ९० रुपियाँ पर्ने भएकाले उत्पादन लागत नेपालमा दोब्बर बढ्छ । यसले गर्दा भारतीय माछा सस्तो हुँदै नेपाली बजारमा छिर्छ र प्रतिस्पर्धामा नेपाली माछा पछि पर्छ ।
भारतमा प्रतिकेजी एक सय रुपियाँमा पाइने माछा नेपालमा २५० रुपियाँसम्म पर्नु प्रतिस्पर्धा असमान रहेको प्रमाण भएको किसान बताउँछन् । यस्तो मूल्य अन्तरका कारण बारबर्दिया नगरपालिका क्षेत्रमा लाग्ने साप्ताहिक बजारसमेत भारतीय माछाको बिक्री बढेको किसानको गुनासो छ । बारबर्दिया नगरप्रमुख छविलाल थारूले साप्ताहिक बजारको अनुगमन कडा पारिने बताउँदै, बजारमा भारतीय माछा भेटिए तुरुन्तै कारबाही गरिने बताउनुभयो । स्थानीय तहले कडाइसाथ नियमन नगरेमा नेपाली माछा उत्पादन व्यवसाय सङ्कटमा पर्ने किसानको चेतावनी छ ।