• १२ मंसिर २०८१, बुधबार

स्वदेशी उत्पादनको बिक्री बढ्यो

blog

नेपालगञ्जस्थित नेपाल भारत जमुनाहा नाका । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगञ्ज, माघ १७ गते  । भारतबाट कुखुराजन्य उत्पादनको अवैध आयात घट्दै गएको व्यवसायीले जनाएका छन् । भारतबाट हुने कुखुरा र कुखुराजन्य उत्पादनको अवैध आयात कम भएपछि स्वदेशी उत्पादनको माग बढ्न थालेको छ ।

पोल्ट्री व्यवसायी सङ्घ, बाँकेका कार्यवाहक अध्यक्ष ईश्वर सुवेदीका अनुसार केही दिनयता बाँके जिल्लामा उत्पादन गरिएका कुखुराको खपत बढ्दै गएकाले भारतबाट कुखुराको अवैध आयातमा कमी आएको पुष्टि भएको छ । नयाँ सरकार गठन भएलगत्तै गृह मन्त्रालयबाट आएको निर्देशनलाई कडा रूपमा पालना गरिएकाले हाल अवैध आयात कम भएको अध्यक्ष सुवेदीले बताउनुभयो । यसअघि भारतबाट दैनिक ६० क्विन्टलसम्म अवैध रूपमा कुखुरा भित्रिने गरेकाले स्थानीय कुखुरापालन व्यवसाय धराशायी बनेकामा हाल आएर केही सुधारको लक्षण देखा परेको उहाँले बताउनुभयो । 

पोल्ट्री व्यवसायी सङ्घ, बाँकेका अनुसार विगत लामो समयदेखि कुखुराको अवैध आयात रोक्न पटकपटक स्थानीय प्रशासन र प्रहरीको ध्यानाकर्षण गराउँदै आए पनि कुनै प्रभाव परेको थिएन ।   बर्डफ्लुलगायत पन्छीजन्य रोग नेपाल भित्रिने खतराका कारण सरकारले भारतीय कुखुराजन्य पदार्थ आयातमा प्रतिबन्ध लगाएको छ तर भारतमा कुखुराजन्य पदार्थको मूल्य नेपालमा भन्दा सस्तो रहेकाले भारतीय कुखुरालाई तस्करी गरेर नेपाली बजारमा पु-याउने गरिएको छ । 

केही समययता स्थानीय कुखुराको बिक्री बढेको नेपालगञ्ज परसपुरका कुखरापालक निजामुद्दिन इद्रिसीले बताउनुभयो । “स्वदेशी कुखुराको माग बढ्नुको अर्थ भारतबाट हुँदै आएको अवैध आयात रोकिएको वा कम भएको भन्ने हो,” उहाँले भन्नुभयो । अर्का कुखुरापालक किसान मुनेजर खाँले पनि अहिले केही दिनयता स्थानीय उत्पादनमा माग बढ्दै गएकाले आफूहरूमा आशा पलाएको बताउनुभयो । मुख्य नाकालगायत ग्रामीण क्षेत्रका नाका प्रयोग गरी दैनिक ठूलो मात्रामा भारतबाट कुखुरा नेपाल आउने गरेको र त्यसको असरले स्थानीय व्यवसायीको व्यवसाय धरापमा परेकामा अहिले केही राहतको सङ्केत देखिएको अधिकांश व्यवसायीको धारणा छ । सबभन्दा बढी बाँकेको जानकी गाउँपालिका–१, साईगाउँ र खजुरा गाउँपालिका–१, राधापुर क्षेत्रबाट कुखुरा र चल्ला तस्करी हुने गरेको व्यवसायीको दाबी छ ।