• १२ साउन २०८१, शनिबार

औद्योगिक क्षेत्रको जग्गा नाप सुरु

blog

लीलाधर वली

घोराही, माघ १७ गते ।  दाङको घोराहीमा औद्योगिक क्षेत्र निर्माण गर्न जग्गा नापजाँचको काम सुरु भएको छ । नेपाल सरकारले २०७७ माघ ११ गते औद्योगिक क्षेत्र घोषणा गरेको घोराही उपमहानगरपालिका–३ र ५ अन्तर्गत पर्ने जग्गा नापजाँचको काम सुरु भएको हो । अब औद्योगिक क्षेत्रको काम अगाडि बढ्ने अपेक्षा गरिएको छ । 

सरकारले तीन वर्षअघि घोषणा गरेको औद्योगिक क्षेत्रलाई कार्यान्वयनका लागि जग्गा नापीको काम सुरु भएको दाङ जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्कसिंह बुढाथोकीले जानकारी दिनुभयो । 

“औद्योगिक क्षेत्र घोषणा भए पनि कार्यान्वयनका लागि ढिलाइ भइरहेको छ । अहिले जग्गा नापजाँचको काम भइरहेको छ । जग्गा छुट्याएर प्रतिवेदन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा पठाउनेछौँ,” अध्यक्ष बुढाथोकीले भन्नुभयो । 

सुरुमा करौँतीडाँडामा ८६ बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र बनाउन पहल थालिएको थियो तर उक्त क्षेत्रमा औद्योगिक क्षेत्र स्थापना स्थापनका लागि जग्गा कम हुने भएपछि घोराही उपमहानगरपालिका–३ र ५ को खुला क्षेत्रलाई समेटेर औद्योगिक क्षेत्र निर्माणको प्रक्रियालाई अगाडि बढाइएको अध्यक्ष बुढाथोकीले बताउनुभयो । 

अहिले घोषणा गरिएको औद्योगिक क्षेत्रमा बस्ती कम रहेको, सहरी क्षेत्रबाट टाढा रहेको, वन क्षेत्र भए पनि थोरै रुख बिरुवा रहेको, पानी, सडक र विद्युत्को सहज सुविधा भएकाले औद्योगिक क्षेत्रका लागि उपयुक्त ठाउँ रहेको उहाँले बताउनुभयो । 

केही समयअघि औद्योगिक क्षेत्रको काम अगाडि बढाउन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड बालाजुका निर्देशक सञ्जयलाल मानन्धरसहितको टोलीले स्थलगत निरीक्षणसमेत गरेको थियो ।