• १५ चैत २०८०, बिहिबार

उत्कृष्ट कृषक नगदसहित सम्मानित

blog

बिरुवा गाउँपालिकाका उत्कृष्ट कृषकलाई सम्मानित गर्दै गाउँपालिकाका अध्यक्ष लगायत ।

राधाकृष्ण डुम्रे

वालिङ, माघ १६ गते । स्याङ्जाको बिरुवा गाउँपालिकाले उत्कृष्ट कृषकलाई नगद पुरस्कारसहित सम्मानित गरेको छ । पालिकाले एकीकृत कृषि तथा पशुपालन फर्मका सञ्चालक ओमबहादुर थापा र मौसम एग्रो फर्मका सञ्चालक दिनेश रानालाई एक–एक लाख नगद पुरस्कारसहित सम्मानित गरिएको हो ।

थापाले कृषितर्फको उत्कृष्ट पुरस्कार पाउनुभएको हो भने रानाले पशुपालन तर्फको उत्कृष्ट पुरस्कार पाउनु भएको गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरले जानकारी दिनुभयो । कृषितर्फ उत्कृष्ट भएका थापाले विगत ३ वर्षदेखि व्यावसायिक कृषि गर्दै आउनुभएको छ । उहाँले सञ्चालन गरेको एकीकृत पशुपालन फर्ममा तरकारी खेतीका लागि स्थायी र अस्थायी प्रकृतिका गरी करिब एक दर्जन प्लास्टिक टनेलहरू छन् ।

महमा आत्मनिर्भर भैसकेको बिरुवा गाउँपालिकामा थापाको मात्रै २९ वटा मौरीका घारहरू छन् । यसैगरी पशुपालनतर्फ उत्कृष्ट भएका दिनेश रानाको बाख्रा फर्म छ । उहाँको मौसम एग्रो फर्ममा ७९ वटा बाख्रा छन् । रानाले पनि पशुपालन व्यवसाय सञ्चालन गरेको ३ वर्ष भएको पालिकाले जनाएको छ । 

पालिकाको एक मात्र समृद्धिको आधार कृषि क्षेत्र भएकाले कृषकलाई प्रोत्साहन गर्न नगद पुरस्कारसहित सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष कुँवरले बताउनुभयो । “समृद्ध बिरुवावासी, सुखी बिरुवावासी” को नाराको व्यवहारिक कार्यान्वयनतर्फ पालिका अग्रसर रहेको उहाँको भनाइ छ । युवालाई कृषि व्यवसायतर्फ आकर्षित गर्न प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिएको कुँवरले बताउनुभयो ।