• १५ वैशाख २०८१, शनिबार

संसद् भवनमा पत्रकारलाई रोक्नुपर्ने कुनै कारण छैन : सभामुख घिमिरे

blog

संसदीय मामिला पत्रकार समाजसँग आवद्ध पत्रकारहरुसँग परिचयात्मक भेटघाट गर्नुहुँदै सभामुख देवराज घिमिरे । तस्बिर : न्यूज एजेन्सी

काठमाडौं, माघ १६ गते । सभामुख देवराज घिमिरेले संसदमा पत्रकारहरूलाई सहज रूपमा रिपोर्टिङ गर्ने वातावरण बनाउने बताउनुभएको छ । सोमबार संसदीय मामिला पत्रकार समाजसँग आबद्ध पत्रकारहरूसँग परिचयात्मक भेटघाट गर्नुहुँदै सभामुख घिमिरेले पत्रकारहरूलाई संसदमा सहज रूपमा रिपोर्टिङ गर्ने वातावरण बनाउने बताउनुभएको हो ।

उहाँले मिडियाले समाजलाई समयमै सूचना तथा समाचारहरू सम्प्रेषण गर्ने र समाजलाई परिवर्तन गर्न भूमिका खेल्ने भन्दै संसद् भवनमा पत्रकारहरूलाई रोक्नुपर्ने कुनै कारण नभएको बताउनुभयो । पत्रकारहरूलाई परेको असहजतालाई हटाउनका लागि आफूले ध्यान दिने उहाँको भनाइ छ । सभामुख घिमिरेले पत्रकारले सम्प्रेषण गर्न लागेको कुरालाई संसद् सचिवालय अथवा सभामुखले रोक्ने स्थिति आउन नदिने प्रतिबद्धता जनाउनुभयो ।


‘‘मिडिया भनेकै के होला त भन्दा भइरहेका कुराहरूलाई, समाजलाई समयमै सम्प्रेषण गरेर सचेत गराउने होला । अब हुने कुराहरू भनेको देश निर्माणका लागि, समाजलाई परिवर्तन गर्नका लागि, अग्रगति दिनका लागि गरिएका प्रयत्नहरू र गरिएका निर्णयहरू हुन् । ती निर्णयहरूलाई, पत्रकारहरूलाई रोक्नुपर्ने, छेक्नुपर्ने, असजिलो पार्नुपर्ने, अप्ठ्यारो पार्नुपर्ने हुँदैन । पत्रकारहरूले पनि नभएका, नचाहिँदा, नहुने कुराहरू गर्न लागेको भए पो ती कुराहरू कसरी प्राप्त गर्ने ? के गर्दा प्राप्त गर्ने ? कोसँग बसेर प्राप्त गर्ने ? कोसँग जुधेर प्राप्त गर्ने ? कोसँग मिलेर प्राप्त गर्ने ? अनेक बाटाहरू खोज्नुपर्ने होला ।,’’ सभामुख घिमिरेले भन्नुभयो, ‘‘तर त्यो नभएपछि यी कुराहरू सहज ढङ्गले जाने कुराहरू हुन् । हाम्रो हलको अवस्था, त्यहाँ भित्रको सुरक्षाको कुरा, त्यहाँ भित्रका अन्य प्रबन्धका कुराहरूलाई मिलाउने सन्दर्भमा भएका अप्ठ्याराहरूलाई सहजता गर्न सकिने के छ त्यसलाई अपनाउने कुरा सामान्य कुरा हो ।’’

उहाँले थप्दै भन्नुभयो, ‘‘पत्रकार जनताका बीचमा सही कुरा सम्प्रेषण गर्न लाग्ने । सही कुरा रोक्नको लागि चाहिँ संसद्, संसद् सचिवालय, सभामुख आदि लाग्नुपर्ने यस्तो स्थिति आउनुपर्ने कारणहरू छैन, आउँदैन, आउनु हुँदैन । जहाँसम्म गोप्य राख्दाखेरी त्यो फाइदा हुन्छ भने त्यसलाई नै प्रसारण गर्दाखेरी फाइदाको विरुद्धमा बेफाइदा हुँदैन र ? मानिलिनुस् कुनै एउटा कुरा मैले गोप्य राख्नुपर्छ यसलाई कुनै खास समयसम्म भन्ने ठाने तर यसलाई छिटो बाहिर लानैपर्छ भन्ने ठान्यो भने यो त बुझाबुझमा न समस्या भयो ।’’


उहाँले समाजलाई सचेत गराउन पत्रकारहरूको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले समाजलाई सचेत बनाउने भूमिकामा पत्रकारितालाई लानुपर्नेमा जोड दिनुभयो । पत्रकारिता क्षेत्रमा देखिएका कमी, कमजोरीहरूलाई अन्त्य गर्नुपर्ने पनि उहाँको भनाइ छ । उहाँले पत्रकारितालाई राज्यको तेस्रो आँखाको रूपमा विकास गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘पत्रकारहरूले खेलेको भूमिकाले नेपाली समाजलाई सचेत गर्छ । त्यो चेतनाको आधारमा सङ्गठित गर्छ । सङ्गठनको आधारमा उसले अगाडि बढ्ने बाटो तय गर्छ । यो मामिलामा पत्रकारहरूको धेरै ठूलो भूमिका हुन्छ भन्ने म ठान्दछु । तर, हाम्रो पत्रकारिता ती उद्देश्यमाथि कत्तिको गइरहेको छ ? हाम्रो पत्रकारिता त्यो दिशामा हामी कत्तिको लान सकिरहेका छौँ ? जसको कारणले भए पनि त्यो दिशामा हामी कत्तिको जान सकिरहेका छौँ ? यसलाई कसरी त्यो दिशामा लैजान सकिन्छ । यहाँ रहेका कमी कमजोरीहरूलाई कसरी अन्त्य गर्न सकिन्छ ? त्यो गर्नु हाम्रो दायित्व हो । राज्यको तेस्रो आँखा भनेर चर्चा गरिएको हाम्रो पत्रकारितालाई वास्तवमा तेस्रो अङ्गकै रूपबाट विकास गर्नलाई हामीले के गर्नुपर्ला ? संसद्को तर्फबाट के गर्नुपर्ला ? पत्रकारहरूको तर्फबाट के गर्नुपर्ला ? हाम्रो साझा दायित्व हो ।’’

सभामुख घिमिरेले शहीद दिवसको अवसरमा शहीदहरूप्रति श्रद्धाञ्जली पनि व्यक्त गर्नुभयो । उहाँले शहीदहरूको सपना साकार पार्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्नुभयो ।