• १६ चैत २०८०, शुक्रबार

फरार थुनुवाको खोजी कार्य तीव्र

blog

फरार थुनुवालाई खोज्न परिचालन गरिएको तालिमप्राप्त कुकुर । तस्बिर : विजयकुमार साह

विजयकुमार साह
ढल्केवर, माघ १६ गते ।
धनुषाको महेन्द्रनगरस्थित इलाका प्रहरी कार्यालयको हिरासत कक्षबाट फरार भएका छ जना थुनुवाको खोजी कार्य तीव्र पारिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले थुनुवा कक्षको भित्ता फोडेर फरार भएका छ जनाको खोजी कार्य तीव्ररुपमा भइरहेको बताउनुभयो । उहाँले घटना सम्बन्धमा छानबिन समिति बनाएर अनुसन्धान गरिने जानकारी दिनुभयो ।


प्रवक्ता क्षेत्रीले खोजी कार्यमा तालिमप्राप्त कुकुर र सशस्त्र प्रहरीलगायत सुरक्षाका सबै संयन्त्र परिचालन गरिएको जानकारी दिनुभुयो । आइतबार राति करिब ३ बजे विभिन्न मुद्दाका छ जना आरोपित हिरासत कक्षको दक्षिणी भागको भित्ता फोडेर फरार भएका थिए ।

फरार हुनेहरुमा जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका–५ का ३० वर्षीय विनोदकुमार शर्मा, सोही नगरपालिका–२ बस्ने २५ वर्षीय अमित मण्डल र २५ वर्षीय रोशन यादव, मिथिला नगरपालिका–२, बस्ने २५ वर्षीय हरिदीप सिंह, सोही नगरपालिका–६, बस्ने २८ वर्षीय रोशन महतो र ३६ वर्षीय शङ्कर सिंह छन् ।


फरारमध्ये विनोद लागूऔषध, अमित सवारी ज्यान, रोशन राष्ट्रसेवक कर्मचारीसँग अभद्र व्यवहार, हरिदीप कुटपिट तथा रोशन र शङ्कर अवैध हातहतियार मुद्दाका आरोपित हुन् ।

प्रहरी कार्यालयको भवन पुरानो रहेको र हिरासतपट्टिको पर्खाल कमजोर भएका कारण इँट्टा फोडेर भागेको प्रहरीको भनाइ छ ।

उनीहरु फरार भएको घटना थाहा पाएलगतै खोजी कार्यमा सक्रिय भएका सुरक्षाकर्मीले भागेर जाने सम्भावित स्थान तथा जिल्लाबाट बाहिरिने सवारी साधनमा समेत जाँच बढाइएको छ ।