धर्बेन्द्र झा
जनकपुरधाम,फागुन २२ गते । प्रतिनिधिसभाको निर्वाचन अन्र्तगत धनुषा जिल्लामा रहेको चारवटा निर्वाचन क्षेत्र मध्ये धनुषा क्षेत्र नं.३ मा मतगणना जारी रहेको छ । पछिल्लो परिणाम अनुसार रास्वपाका उम्मेदवार मनिष झाले भारी मतले अग्रता लिनुभएकोे छ ।
रास्वपाका उम्मेदवार झाले छ हजार छ मत प्राप्त गर्नु भएको छ भने नेपाली कांग्रेसका उम्मेदवार बिमलेन्द्र निधिले दुई हजार २६९ मत प्राप्त गर्नु भएको छ । यसैगरी नेकपा एमालेका उम्मेदवार जुली कुमारी महतोले एक हजार १९० मत प्राप्त गर्नु भएकोे छ ।
धनुषाको निर्वाचन क्षेत्र नं.२ र ४ मा मतगणनाका भएको सर्वदलीय बैठक सम्पन्न भएको र केही वेरमै मतगणना सुरु हुने निर्वाचन कार्यालय मधेश प्रदेशका सूचना अधिकारी कृष्ण राउतले जानकारी दिनु भयो । उहाँले धनुषा क्षेत्र नं.१ मा राख्वपाका उम्मेदवारको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको अवस्थामा रास्वपाका मतगणना गर्ने नगर्ने विषयमा निर्वाचन आयोगलाई पत्राचार गरिएको र निर्वाचन आयोगले उक्त विषयमा निर्णय गरेपछि मात्रै मतगणनाको विषय अगाडि बढने उहाँले बताउनु भयो ।
धनुषा क्षेत्र नं.१ मा रास्वपाका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि उम्मेदवारले उक्त विषयलाई लिएर सर्वोच्च अदालतमा निवेदन दर्ता गराएको छ । अदालतको आदेश नआएसम्म मतगणना रोक्नु पर्ने उम्मेदवार साहको माग रहेको कारण मतगणनामा ढिलाई भएको निर्वाचन कार्यालय मधेश प्रदेशका सूचना अधिकारी कृष्ण राउतको भनाई रहेको छ ।