• ४ जेठ २०८१, शुक्रबार

भू–उपग्रह : कसरी बन्छ त ?

blog

तपाईंलाई पनि भू–उपग्रह बनाउने रहर छ ? यदि छ भने अब तपाईंहरूको सपना पूरा हुने भएको छ । आज हामी तपाईंहरूलाई अन्तरिक्ष प्रतिष्ठान नेपालले दुई वर्षभन्दा माथिका बालबालिकालाई ध्यानमा राखेर ल्याएको ‘पेपर स्याट’का बारेमा जानकारी दिन गइरहेका छौँ । आशा छ यो सामग्री तपाईंहरूलाई पक्कै मन पर्ने नै छ । 

भाइबहिनीहरू, ‘पेपर स्याट’का बारेमा जान्नुभन्दा पहिला पहिला भू–उपग्रह के हो त्यसका बारेमा केही जानकारी लिऔँ है त । उपग्रह एउटा वस्तु हो जुन ठूलो वस्तुको वरिपरि घुम्छ । पृथ्वी एक उपग्रह हो किनभने यो सूर्य वरिपरि घुम्छ । चन्द्रमा एक उपग्रह हो किनभने यो पृथ्वी वरिपरि घुम्छ । पृथ्वी र चन्द्रमालाई प्राकृतिक उपग्रह भनिन्छ तर सामान्यतया जब कसैले भू–उपग्रह भन्छ भने त्यो मानव निर्मित भू–उपग्रह हो । मानव निर्मित भू–उपग्रहहरू मानिसहरूले बनाएका मेसिन हुन् । यी मेसिनहरू अन्तरिक्षमा प्रक्षेपण गर्छन् र पृथ्वी वा अन्तरिक्षमा कुनै निश्चित पिण्डको परिक्रमा गरिरहन्छ । अहिले अन्तरिक्षमा हजारौँ मानव निर्मित भू–उपग्रहहरू छन् । भाइबहिनीहरु, यस्ता कतिपय भू–उपग्रहले हाम्रो ग्रहको तस्बिर खिच्छन्, कतिपयले अन्य ग्रह, सूर्य र अन्य वस्तुहरूको तस्बिर खिच्छन् । यी तस्बिरहरूले वैज्ञानिकहरूलाई पृथ्वी, सौर्य मण्डल र ब्रह्माण्डका बारेमा जान्न मद्दत पुग्छ । अन्य भू–उपग्रहहरूले विश्वभर टेलिभिजन सिग्नल र फोन कलहरू पठाउँछन् । हो, यस्तै भू–उपग्रह तर सानो आकारको भू–उपग्रह जसलाई नानो स्याटेलाइट भनिन्छ यस्ता स्याटेलाइट यसअघि नेपालले अन्तरिक्षमा पठाइसकेको छ, अझैँ दुईवटा डाँफे र मुनाल नामका स्याटेलाइट पठाउने तयारीमा छ । 

भाइबहिनीहरू, आज हामी यही नानो स्याटेलाइटको पनि मोडेल (नमुना) अर्थात् ‘पेपर स्याट’ का बारेमा जानकारी दिन गइरहेका छौँ । ‘पेपर स्याट’ भू–उपग्रह नामबाटै हामीलाई धेरै कुरा थाहा हुन्छ यो कागज र प्लास्टिकले बनेको छ । यो नमुना भू–उपग्रह दुई वर्षभन्दा माथि उमेर समूहका बालबालिकालाई भू–उपग्रह कसरी बन्छ, कस्तो देखिन्छ र यसले कसरी काम गर्छ भन्ने विषयमा जानकारी दिने उद्देश्यले ल्याइएको छ । 

‘करिब एक वर्षअघि, हामीले अन्तरिक्ष प्रतिष्ठान नेपालमा बालबालिका र युवा पुस्तालाई प्रारम्भिक चरणमा भू–उपग्रहका बारेमा कसरी प्रेरणा जगाउन सकिन्छ भन्ने विषयमा छलफल गरेका थियौँ । त्यस क्षणदेखि अहिलेसम्म हामीले कागजबाट बनेको उपग्रह मोडेलको विभिन्न संस्करणहरू सिर्जना ग-यौँ । धेरै प्रयास र छलफलपछि हामीले नेपालका प्रत्येक व्यक्तिलाई भू–उपग्रहका बारेमा परिचय गराउने एउटा अनौठो र सजिलो तरिका लिएर आएका छौँ । त्यही चिज हो पेपर स्याट’, अन्तरिक्ष प्रतिष्ठान नेपालमा स्याटेलाइटका अनुसन्धानकर्ता विकल्प ढुङ्गानाले भन्नुभयो । उहाँले यो भू–उपग्रहलाई पेपरस्याटः कागज र प्लास्टिकबाट बनेको उपग्रहका रूपमा परिचय गराउने गरेको बताउनुभयो । 

“धेरैले यो कागज र प्लास्टिक मात्र हो भन्न सक्छन् तर पेपर स्याटले देखेको सपना कागज र प्लास्टिकभन्दा परको चिज हो । पेपर स्याटले नेपाली बालबालिका र युवालाई ठूलो सपना देख्न प्रेरित गर्छ भन्ने हाम्रो विश्वास छ,” उहाँले भन्नुभयो ।  उहाँका अनुसार पेपरस्याट एउटा उत्पादन मात्र होइन यो समुदाय, समाज, राष्ट्र र विश्वमा परिवर्तनको पहिलो चरण हो । 

यो ‘पेपर स्याट’ मलाई त मन प-यो है। अब तपाईंहरु पनि ‘पेपर स्याट’ को मद्दतले घर वा विद्यालयमै भू–उपग्रह (स्याटेलाइट) बनाउने हैन त? 

भाइबहिनीहरू, अन्तरिक्ष प्रतिष्ठान नेपालका अनुसार यो पेपर स्याट नेपाली कागजबाट बनेको छ । यसमा प्रयोग भएका सामग्री बालबालिकामैत्री छन् । यसलाई कसरी निर्माण गर्ने भन्ने सम्पूर्ण जानकारी रहेको सहयोगी पुस्तिका यसैसँग राखिएको छ । पेपर स्याटले नेपाली बालबालिका र युवाहरूलाई स्याटेलाइट कसरी बन्छ, यसले कसरी काम गर्छ भन्ने कुरा सिकाउन मद्दत गर्छ । अर्कोतर्फ यसमा विशेष गरी बालबालिकाको सिर्जनशीलता वृद्धि गर्नुका साथै बच्चैदेखि अन्तरिक्ष र भू–उपग्रहका बारेमा कौतुहलता जगाउनुका साथै यस विषयमा प्रारम्भिक ज्ञान दिने काम गर्छ । अन्तरिक्ष प्रतिष्ठान नेपालले ल्याएको यो पेपर स्याटको हालको मूल्य दुई हजार रुपियाँ तोकेको छ । 

भाइबहिनीहरू, पेपर स्याट अहिले बजारमा जहाँ कहीँ उपलब्ध छैन तर निकट भविष्यमा यसलाई बजारमा सहजै उपलब्ध गराउने बताइएको छ । बालबालिका, युवा र विद्यालयलाई पेपर स्टाट चाहिएमा अन्तरिक्ष प्रतिष्ठान नेपालले सोझै आफूहरूलाई आफ्नो आधिकारिक वेबसाइट र सामाजिक सञ्जालमार्फत सम्पर्क गर्न आग्रह गरेको छ । यो ‘पेपर स्याट’ मलाई त मन प¥यो है । अब तपाईंहरू पनि ‘पेपर स्याट’को मद्दतले घर वा विद्यालयमै भू–उपग्रह (स्याटेलाइट) बनाउने हैन त ? 

तपाईंहरूलाई यो सामग्री कस्तो लाग्यो मुनाको ठेगानामा आफ्नो कुरा चिठी वा इमेलमा लेखेर पठाउनु है । मुनाको अर्को अङ्कमा विज्ञान र प्रविधिका विषयमा नयाँ र रोचक जानकारीका साथ भेटौँला है त ।