• १७ चैत २०७९, शुक्रबार

राम – लक्ष्मणको सम्झना

blog

नेपालको राजनीतिक इतिहासमा लखन थापालाई पहिलो शहीद मानिन्छ । एकतन्त्रीय राणा शासनविरुद्ध १९९७ सालमा दशरथ चन्द, गङ्गालाल, धर्मभक्त, शुक्रराज शास्त्री इत्यादि शहीद भए । ती अमर शहीदको बलिदानस्वरूप २००७ सालमा नेपालमा १०४ वर्षको एकतन्त्रीय राणा शासन समाप्त भई प्रजातन्त्र आएको थियो । त्यो प्रजातन्त्रलाई पनि २०१७ साल पुस १ गते हत्या गरियो ।

२०१७ सालमा हत्या गरिएको प्रजातन्त्रलाई पुनस्र्थापना गर्ने आन्दोलनको सिलसिलामा २०१७ सालदेखि २०४६ सालसम्म कैयौँ शहीद भए । ती अमर शहीदमा शुभचन्द्र मिश्र, साकेतचन्द्र मिश्र, कामेश्वर–कुशेश्वर, लीला दाहाल, ठगी दाहाल, राम र लक्ष्मण उपाध्याय इत्यादि छन्, जसको बलिदान स्वरूप आज हामीले प्रजातन्त्रको उपभोग गर्न पाएका छौँ । 

प्रजातान्त्रिक आन्दोलनमा सयौँ शहीद भए । राम र लक्ष्मणजस्ता युवाले जुन अदम्य साहस र वीरता प्रदर्शन गरी नेपाली कांग्रेसको आह्वानमा सोलुखुम्बुमा सशस्त्र आन्दोलनको क्रममा वीर गति प्राप्त गरेका थिए । राम र लक्ष्मणको जन्म २००५ साल वैशाख ५ गते उदयपुर जिल्लाको सदरमुकाम उदयपुरगढीमा पिता विष्णुप्रसाद पौडेलको जुम्ल्याहा माहिलो छोराको रूपमा भएको थियो । २००७ सालको क्रान्तिमा महोत्तरी–सप्तरी क्षेत्रका कमान्डर रुद्रप्रसाद गिरीको नेतृत्वमा कृष्णप्रसाद भट्टराईसहित ३५ जनाको मुक्तिसेनाको डफ्फाले २००७ साल कात्तिक २७ गतेका दिन उदयपुरगढीमाथि आक्रमण गर्न जाँदा सरदार विष्णुप्रसाद पौडेलले मुक्तिसेनालाई साथ दिई सघाउनु भएको थियो । मुक्तिसेनाले उदयपुरगाहमाथि कब्जा जमाइ त्यहाँ रहेको १७ हजार रुपियाँ पनि हात पा-यो ।

त्यस क्रान्तिमा सरदार विष्णुप्रसादले साथ दिएकाले राणा शासकले उनी र उनका जेठो छोरा पाँच वर्षीय वेदप्रसाद र दुई वर्षीय राम र लक्ष्मणलाई पक्रेर ल्याउनु भनी प्रहरीलाई आदेश दिए । राणाका फौज र प्रहरीले उदयपुरगढीमा उनको घर घेरा हाली फायरिङ गर्न थाल्दा मुस्किलले आफ्नो परिवार र साना बच्चा राम र लक्ष्मणसहित लिएर भाग्न सफल भए । उनले आफ्नो सम्पूर्ण परिवारलाई भारतको जयनगर लिएर जानुभयो । २००७ सालको क्रान्ति सफल भई फागुन ७ गते प्रजातन्त्र घोषणापछि खरिदार विष्णुप्रसादले आफ्ना परिवार लिएर सिराहाको बस्तीपुर गाउँमा आई बस्न थाले । त्यहाँ उनलाई मित्रलाल गिरी, रुदप्रसाद गिरी र मोतीलाल मिश्रजस्ता प्रजातन्त्रका सेनानीले ठूलो सहयोग गरेका थिए । 

खासगरी त्यतिबेला बस्तीपुरका २००७ सालका कमान्डर रुद्रप्रसाद गिरी जेलमा बन्दी थिए भने, मित्रलाल गिरीलगायत धेरै कार्यकता प्रवासमा राजनीतिक जीवन बिताइरहेका थिए । मित्रलाल गिरीको छोरा प्रदीप गिरी २०१७ सालमा बस्तीपुरबाट एसएलसी पास गरी थप अध्ययनका लागि बनारस गएका थिए । बनारस र बस्तीपुरबीच राजनीतिक गतिविधिको आदान–प्रदान भइरहन्थ्यो । नेपाली कांग्रेसको सङ्घर्षशील चरित्र र प्रजातन्त्रको पुनः प्राप्तिले राम र लक्ष्मणको मस्तिष्कलाई उद्वेलित पारिरहन्थ्यो । २०२१ सालमा महेन्द्र मोरङ कलेज विराटनगरमा पढ्न जाँदा सधैँ राजनीतिक आन्दोलनमा अग्रसर भइरहन्थे । यसले गर्दा कलेज अध्ययन क्रममा बढी जेल–जीवन नै बिताउनु परेको थियो । यतिसम्म कि जेलबाटै राम र लक्ष्मण दुवैले बीए उत्तीर्ण गरेका थियो । 

एक दिन बिरामी परेकाले प्रशासनको आदेशमा दुवै भाइलाई हतकडी लगाई अस्पताल लगिएको दियो । अस्पतालबाट फर्किंदा बाटोमा साथमा रहेका प्रहरीलाई छक्याइ उनीहरू भाग्न सफल भए । भागेर जोगबनीको काँडेतार पर्खाल नाघी उहाँ फारबिसगञ्ज (भारत) मा रहेको कांग्रेसको क्याम्पमा पुगे । मोरङको रमाइलो झोराको पञ्चायती सरकारको नृशंस हत्याकाण्डपछि विद्रोही भई पुगेका भू.पू. सैनिक कप्तान यज्ञबहादर थापा त्यही पार्टीको गतिविधिमा संलग्न थिए । त्यहाँ उनीहरूले नेपालमा सशस्त्र क्रान्ति गर्ने योजना तयारी भइरहेको थाहा पाए । केही दिनपछि दुवै भाइ सप्तरीका कांग्रेस नेता इन्द्रदेव सिंहको सहयोगमा दरभङ्गामा बी.एल. पढ्न लागे । पढाइभन्दा राजनीतिक क्रियाकलापमा नै बढी समय 

व्यतीत गर्ने उनीहरू एकदिन गोप्य रूपले सप्तरीको कोइलाडी गाउँमा आई लहानमा आफ्नो पिता विष्णुप्रसादलाई भेटेर सारा योजना सुनाएका थिए । 

उता बनारसमा बीपी कोइरालाको रणनीतिअनुसार नेपालका पहाडी इलाका ओखलढुङ्गा र सोलुखुम्बुमा सशस्त्र आन्दोलन गरी कब्जा गर्ने उद्देश्यले फारबिसगञ्ज क्याम्पमा कप्तान यज्ञबहादुर थापा र राजनीतिक अधिकृत महेश कर्मोचाले कांग्रेसको योजनाअनुरूप बनारस पुगी बीपी र गिरिजाप्रसाद कोइरालासित भेटी सशस्त्र आन्दोलन गर्ने पूर्व तयारी गर्न थाले । त्यस आन्दोलनको सैनिक कमान्डर यज्ञबहादुर थापा र राजनीतिक कमिश्नर राम र लक्ष्मण बनाइए । पूर्व तयारीअनुरूप सशस्त्र आन्दोलनका सिपाही बनारसबाट नेपाल प्रवेश गर्ने सिलसिलामा जयनगरबाट आन्दोलनकारीको दफ्फा नेपाल सिमानाभित्र प्रवेश गरी कमला नदीको किनारै किनार ओखलढुङ्गातर्फ बढ्न थाले । बिना रोकटोक ओखलढुङ्गाभन्दा माथि बढेपछि एउटा नदीनेंर पुग्दा सरकारले सुइँको पाइ सदरमुकामबाट सेना पठायो । उनीहरू यसअघि नै नदी तरेर पारी पुगिसकेकाले सरकारी सेनाको प्रयास असफल भयो ।

उता सोलुबजारमा रहेका सेना अफिसरसँग विद्रोहीको भित्री सम्पर्क थियो । पूर्वयोजना अनुसार विद्रोहीले सदरमुकाम पुगेर सामान्य लडाइँ गर्नासाथ सेनाले आत्मसमर्पण गर्ने र त्यसपछि हतियारयुक्त पुलिस जवानलाई सङ्गठित गरी स्थानीय सरकार गठन गरिने भएको थियो । विद्रोहीका सफलताका दिन नजिकिँदै थिए । विद्रोहीले आफू आइपुग्नै लागेको खबर आफ्नो पक्षमा रहेका सरकारी सेनाकहाँ पु¥याए तर सरकार हलचलपूर्ण अवस्थामा रहेकाले तत्काल निर्णय गर्न उनीहरू पनि डराए । त्यसैले सोलुबजारबाट सरकारी सैनिक अफिसरले पूर्वयोजना विपरीत विद्रोहीलाई दुई दिन बाटोमा पर्खने सल्लाह पठाए । त्यो सल्लाह मान्नु नै विद्रोहीका लागि सबभन्दा ठूलो घातकसिद्ध भयो । यसरी आफूसित मिलेका सरकारी सैनिक पनि सरकारको पक्षमा गएकाले उनीहरू दलबलसहित त्यहाँको टिमुरे जङ्गलभित्र पसे । काठमाडौँबाट आएका थप सैनिक शक्तिले विद्रोहीलाई जङ्गलमा नै घेर्न पुगे ।

यस्तो सङ्कटपूर्ण अवस्थामा टिमुरे जङ्गलभित्र ओडारमा बसेर विद्रोही आफ्ना कमजोरीको मूल्याङ्कन गर्दै थिए । सेनाले आफूमाथि हमला गर्न थालेपछि स्थिति बिग्रेको कुरा थाहा भयो । विद्रोही पक्षका सैनिक कमान्डर यज्ञबहादुर थापा र राजनीतिक कमिश्नर राम र लक्ष्मणबीच सुरुदेखि नै सेनासम्बन्धी र अन्य विषयमा मतभेद उठेको थियो । नेपाल पस्नासाथ उनीहरूको टिमबाट एक जना फरार भएकाले निजलाई कारबाही गर्न राम र लक्ष्मणबाट माग भइरहेको थियो । यसरी आफूबाट बाहिर गएपछि टिमुरे जङ्गलभित्र तिनीहरू असहाय महसुस गरिरहेका थिए । सरकारी सेना र विद्रोहीका बीच घमासान गोली चल्यो । सरकारी सेनाका शक्ति अगाडि विद्रोहीको शक्ति क्षीण हुँदै गए पनि राम र लक्ष्मणको साहस कम भएन । आखिर प्रजातन्त्रको बलिवेदीमा यिनीहरू पञ्चायती सत्ताको गोलीबाट टिमुरे जङ्गलमा नै २०३१ साल पुसमा शहीद भए । राज्यले लहान नगरपालिका क्षेत्रभित्र उनीहरूको सालिक निर्माण गरी सम्मान व्यक्त गर्नुपर्छ ।