धर्बेन्द्र झा
धनुषा, माघ १५ गते। भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा स्थापना गरिने मूर्ति बनाउनका लागि म्याग्दीको वेणिस्थित कालीगण्डकी नदीको किनारमा रहेको शिलालाई जनकपुरधाम ल्याइएको छ। आइतबार देवशिलालाई देवी सीताको जन्मस्थल जानकी मन्दिर परिसरमा लगेर पूजा गरिएको हो। यसअघि नेपालको म्याग्दीको गलेश्वरधाम लगायतका धार्मिक स्थानमा लगेर पूजा, अर्चना गरिएको थियो।
भारत पठाउनका लागि पाँच वटा शिला पहिचान गरिएकोमा दुई वटा शिला पठाउन लागिएको हो। भारत पठाउनु अघि परीक्षण गरिएका ती शिला ‘२६ टन र १४ टन’ तौलका छन्।
यसले नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने उनीहरूको विश्वास छ। शिला बुधबारसम्म राम जन्मभूमिको ट्रस्टलाई जिम्मा लगाउने तयारी छ। शिला कालीगण्डकीबाट पोखरा हुँदै विभिन्न धार्मिक स्थलमा पूजा गर्न राखिएको थियो।
जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले आइतबार बिहान दुवै शीलाको विशेष पूजा गरिएको र राति विशेष आरती गरिएपछि दुवै शिलालाई सोमबार भारतको अयोध्याका लागि पठाइने जानकारी दिनुभएको छ।
भारतको अयोध्याधाम पठाउनका लागि नेपाल सरकारको निर्णय बमोजिम गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले माघ १२ गते प्रतिनिधि सभाका सदस्य एवम् पूर्व गृहमन्त्री बिमलेन्द्र निधिको उपस्थितिमा जानकी मन्दिरका प्रतिनिधि रामरोशन दासलाई हस्तान्तरण गरेको थियो। म्याग्दी जिल्लाको बेनीबजार स्थित कालीगण्डकी नदीको किनारबाट जनकपुरधाम ल्याउने क्रममा दुवै शिल्लालाई ठाँउ ठाँउमा विशेष पूजा गरिएको थियो।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसहितका उच्च पदस्थ व्यक्तिले शिलाको पूजाआजा गरी दर्शन गरेका छन्। भगवान रामको प्रतिमा निमार्ण गरिने शिलाको दर्शन गर्नका लागि आइतबार बिहानैदेखि जनकपुरधामको जानकी मन्दिरमा सर्वसधारणको भीड लागेको छ। आज राती दुवै शिलाको आरती गरे पश्चात सोमबार भारतको अयोध्या पठाउने तयारी छ।