• ८ पुस २०८१, सोमबार

सुशासन कायम गर्न अख्तियार सक्रिय

blog

लहान समाचारदाता

लहान, माघ १५ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका प्रमुख गोपालकुमार अधिकारीले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न अख्तियार सक्रिय रहेको बताउनुभएको छ। 

सिरहाको धनगडीमाई नगरपालिकाको प्रशासनिक भवनमा शनिबार आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको थियो। तीनै तहको सरकारले पठाएको बजेट सदुपयोग नहुँदा आमजनतामा बढिरहेको निराशालाई अन्त्य गर्न अख्तियार सक्रिय रहेको भन्दै प्रमुख अधिकारीले सचेत नागरिकहरूले विकासका लागि आएको बजेट वितरणको प्रक्रिया र समयमा विकासका आयोजनाहरू सम्पन्न गर्न रहनुपर्ने सक्रियता बढाउँदा अनियमितता रोकिने तर्क गर्नुभयो। 

उहाँले भन्नुभयो, “स्थानीय तहमा आएको बजेटको दुरुपयोग कर्मचारी र जनप्रतिनिधिहरूकै मिलोमतोमा भइरहेको बढी उजुरी आउने गरेको छ। मधेश प्रदेशका आठवटै जिल्लामध्ये सिरहाबाट पनि बढी नै उजुरी आउने गरेकाले सरोकारवालाहरूलाई सचेत भई ऐन नियमको परिधिभित्रै रहेर काम गर्न अन्तक्र्रियाको आयोजना गरिएको छ।”

कार्यक्रममा धनगडीमाई नगरपालिकाका प्रमुख शिवशङ्कर महतोले लोकतन्त्रको आधार स्तम्भ नै पारदर्शिता र जनसहभागिता भएकाले कुनै पनि विकास निर्माणका लागि आएको बजेटमा यही नीतिलाई आधार मानेर काम गर्ने विश्वास दिलाउँदै यस नगरपालिकालाई भ्रष्टाचारमुक्त नगरपालिका बनाउने बताउनुभयो। 

समृद्धि, विकास र सामाजिक न्यायलाई केन्द्रमा राखेर कार्य गर्न सदैव तयार रहने प्रतिबद्धता व्यक्त गर्दै नगरप्रमुख महतोले भन्नुभयो, “भ्रष्टाचार र अनियमिता गर्न र गराउन जोकोहीलाई यस नगरपलिकामा ठाउँ हुने छैन।” 

वडा नं. १४ का अध्यक्ष अमित ठकुरीले निर्वाचित जनप्रतिनिधिहरू दलीय दायरामा रहेर जनताका सामूहिक विकास गर्न फराकिलो हुनुपर्नेमा त्यस्तो संस्कृति नहुनुले पनि भ्रष्टाचार बढेको र सुशासनको प्रत्याभूति हुन नसकेको धारणा व्यक्त गर्नुभयो। 

अख्तियारमा उजुरी गरे पनि कारवाही नहुँदा झन् अनियमित गर्नेहरूको मनोबल बढ्नुको साथै नीतिगत र संस्थागत भ्रष्टाचार बढिरहेको एक दर्जनभन्दा बढी सहभागीहरूले बताएका थिए।