• १० पुस २०८२, बिहिबार

आर्थिक गणना समृद्धिको आधार

blog

राष्ट्रनिर्माणमा विकास अपरिहार्य तत्व हो भन्नेमा द्विविधा रहेन । एकातिर तीव्र, उन्नत र सन्तुलित विकासको आवश्यकता रहेका अविकसित र अल्पविकसित मुलुक छन् भने अर्कोतिर उच्चतम विकास हासिल गरी प्राप्त विकासलाई दिगो र सुदृढ कसरी बनाउन सकिन्छ भन्ने ध्याउन्नमा लागेका विकसित मुलुक पनि विश्वसामु अवस्थित छन् । बेलायतको लेगाटम इन्स्टिच्युट (हाल प्रोस्पेरिटी इन्स्टिच्युट) ले सबै देशलाई साझा हुने समृद्धिका १२ आयाम पेस गरेको भए पनि नेपाल जस्ता विकासमा फड्को मार्न लालायित देशका लागि विशेषतः राजनीतिक, आर्थिक, सामाजिक र वातावरणीय आयाम नै काफी छन् । ती आयामलाई आवश्यक पर्ने सूचना तथा तथ्याङ्क देशमा सञ्चालन गरिने गणना तथा सर्वेक्षण र प्रशासनिक व्यवस्थापन सूचना प्रणालीबाट प्राप्त गर्न सकिन्छ । यहाँ पाठकका लागि भने देश विकासका लागि आर्थिक समृद्धिका आयामको सम्बन्ध मुलुकमा गरिने राष्ट्रिय आर्थिक गणनासँग जोड्ने प्रयत्न गरिएको छ ।

गणनाको अर्थ गन्ने कार्य वा मूल्याङ्कनसहित गन्ति भन्ने बुझाउँछ । आधुनिक युगमा गणनाको साधारण अर्थलाई आधिकारिक निकाय वा संस्थाबाट प्रत्येक मानिस, वस्तु वा आर्थिक एकाइको विवरण प्राप्त गर्ने कार्यको रूपमा लिइन्छ । विस्तृत रूपमा यसले निश्चित समयावधिमा कुनै निश्चित भौगोलिक सिमानाभित्र रहेका व्यक्ति, घरधुरी, घरपरिवार, सङ्घ संस्था, आर्थिक तथा सामाजिक एकाइको सङ्ख्या तथा सम्बन्धित विवरणलाई पूर्ण रूपमा व्यवस्थित र आधिकारिक ढङ्गले सङ्कलन गर्ने प्रक्रियालाई बुझाउँछ । गणना आआफ्ना क्षेत्रका हुन्छन् जस्तैः जनगणना, कृषिगणना, आर्थिक गणना, पशुपन्छी गणना, औद्योगिक गणना आदि । सबै प्रकारका गणनाले राज्यले तय गर्ने सम्बन्धित विषय क्षेत्रका नीति निर्माण, योजना तर्जुमा तथा मूल्याङ्कनलाई महत्वपूर्ण योगदान गरिरहेका हुन्छन् । निजी क्षेत्र, अध्ययन–अनुसन्धानका अध्येता तथा सर्वसाधरणलाई समेत यथेष्ट सूचना तथा तथ्याङ्क प्रवाह गरेका हुन्छन् ।

आर्थिक गणना के हो, किन गरिन्छ, कसरी गरिन्छ र मुलुकको आर्थिक समृद्धिमा यसले कसरी बल पु¥याउँछ भन्ने कुरा विशेष रहन्छ । देशको आर्थिक तथ्याङ्क देशको ऐना हो, जसलाई तोकिएको समयान्तरमा गरिने राष्ट्रिय आर्थिक गणना, आर्थिक सूचना तथा तथ्याङ्क प्राप्त गर्ने ध्येयले सञ्चालन गरिने अन्य साना–ठुला आर्थिक सर्वेक्षण र प्रशासनिक अभिलेखबाट प्राप्त गर्न सकिन्छ । आर्थिक गणनालाई कुनै निश्चित स्थानमा रहेका व्यावसायिक प्रतिष्ठानबाट तोकिएको अवधिभित्र भएको वस्तु तथा सेवा उत्पादन वा बिक्रीसम्बन्धी जानकारी आधिकारिक निकायबाट सङ्कलन तथा तथ्याङ्क उत्पादन र वितरण गर्ने प्रक्रियाका रूपमा परिभाषित गरिन्छ । यस्तो गणना आवधिक रूपमा सञ्चालन गरी व्यवसाय, उद्योग, सङ्घ संस्था र प्रतिष्ठानहरूको तथ्याङ्कीय विवरण सङ्कलन तथा प्रयोगकर्तालाई उपयोगी हुने गरी उत्पादन तथा प्रकाशन गरिन्छ । आर्थिक गणनालाई मुलुकको आर्थिक सूचक प्राप्त गर्ने एक महत्वपूर्ण स्रोत रूपमा पनि लिइएको हुन्छ ।

बाह्य रूपमा हेर्दा आर्थिक गणना एक प्राविधिक विषय जस्तो देखिए पनि यो एक बहुआयामिक विषय हो । यो किन गरिन्छ भन्ने यसको महìव, उपादेयता र उद्देश्यमा झल्किन्छ । तपाईं हामी सबैमा एक सामान्य प्रश्न उठ्न सक्छ, तपाईंको वडामा वा पालिकामा वा क्षेत्रमा कति उद्योग छन्, कति व्यापार गर्ने पसल छन्, कति विद्यालय छन्, कति होटल–रेस्टुरेन्ट छन्, रोजगारी कति प्राप्त भएका छन्, कति लगानी गरिएको छ ? यी र यस्ता अनगिन्ती प्रश्न जो सामान्य लाग्छन् तर आधिकारिक जवाफ दिन या त हम्मे पर्छ या त जवाफ नै छैन । यसका लागि अनिवार्य रूपमा गणना गर्ने, अभिलेख राख्ने र समय समयमा अद्यावधिक गर्नुपर्ने हुन्छ । यी उपायमध्ये राष्ट्रमा गरिने आर्थिक गणना एक भरपर्दो माध्यम हुन आउँछ । आर्थिक गणनाको उपादेयतालाई अझ स्पष्ट पार्न यो गणनाका मूल उद्देश्य उल्लेख गर्नु वाञ्छनीय देखिन्छ ।

विश्वव्यापी रूपमा आआफ्नो देशमा निश्चित अन्तरालमा गरिने आर्थिक गणना नेपालमा भने प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अन्तर्गत राष्ट्रिय तथ्याङ्क कार्यालयले विसं २०७५ मा पहिलो पटक राष्ट्रिय आर्थिक गणना, २०७५ सम्पन्न गरेको थियो । जस अनुसार देशैभर ९,२३,३५६ प्रतिष्ठान–व्यवसाय रहेका र ती प्रतिष्ठानमा जम्मा ३२,२८,४५७ मानिस संलग्न रहेका थिए । प्रतिष्ठान–व्यवसायमा करिब ३० प्रतिशत (२९.६ प्रतिशत) महिला व्यवस्थापक रहेका विवरण सार्वजनिक भएका थिए । उक्त समयमा जम्मा ५०.१ प्रतिशत प्रतिष्ठान सरकारी निकायमा दर्ता भएको र बाँकी बिनादर्ता सञ्चालनमा रहेका पाइएको थियो । यसै गणनाका आँकडालाई लिएर सरकारले चालु १६ औँ योजनाको अन्त्यसम्ममा अनौपचारिक प्रतिष्ठानमा भएको रोजगारी न्यूनीकरण गर्ने (६२.२ प्रतिशतबाट ४० प्रतिशतमा झार्ने) र कारोबारको लेखा राख्ने प्रतिष्ठानको प्रतिशत वृद्धि (४७.६ प्रतिशतबाट ८८ प्रतिशतमा पु¥याउने) गर्ने लक्ष्य राखेको छ । यी र यस्ता तथ्याङ्कीय वस्तुस्थिति र यसको भरपूर प्रयोगबाट समाज र राष्ट्रको आर्थिक उन्नतिमा टेवा दिने कार्य आर्थिक गणनाले गरिरहेको हुन्छ । समग्रमा, आर्थिक गणनाले देशको अर्थतन्त्रको आकार अनुमान तथा सुदृढ गर्न महत्वपूर्ण आधार पुगेको हुन्छ । 

आर्थिक गणनाबाट प्राप्त तथ्याङ्कले सरकारलाई प्रमाणमा आधारित आर्थिक नीति, औद्यौगिक नीति, व्यापार नीति तथा रोजगार नीति निर्माण गर्न सहयोग पुग्छ । आर्थिक समृद्धिका नीतिगत आधार सुनिश्चित गर्छ । क्षेत्रगत तथा भौगोलिक रूपमा आर्थिक गतिविधिको अवस्था पहिचान भई सरकारलाई बजेट विनियोजन र विकास योजनालाई प्रभावकारी बनाउन कार्यगत मद्दत पनि गर्छ । फलस्वरूप प्रमाणमा आधारित र वस्तुगत योजना तथा कार्यक्रम हुन सकेनन् भन्ने आरोपको पनि न्यूनीकरण हुने निश्चितता रहन्छ । देशमा टड्कारो आवश्यकता रहेको उद्यमशीलता, सिप विकासका कार्यक्रम र रोजगारी सिर्जनामा समेत यो गणनाले सबै सरोकारवालालाई सहयोग गर्छ । समाजमा आर्थिक क्रियाकलाप र रोजगारीका विषयलाई औपचारिक बनाउन योगदान गरी समृद्ध समाज निर्माणमा सहयोगीसिद्ध पनि हुन्छ । गणनाका तथ्याङ्कले लगानीका सम्भावित क्षेत्रको पहिचान गरी स्वदेशी तथा वैदेशिक लगानी आकर्षणमा भूमिका खेल्ने हुँदा आर्थिक वृद्धि तथा विकासका थप ढोका खुल्ने सम्भावना रहन्छ । देशको आर्थिक समृद्धिका लागि आवश्यक पर्ने वस्तुनिष्ठ, विश्वसनीय र सम्पूर्ण रूपमा गुणस्तरीय तथ्याङ्कको एक महत्वपूर्ण स्रोतका रूपमा आर्थिक गणनाको अपरिहार्यता पुष्टि हुन्छ ।