• ११ मंसिर २०८१, मङ्गलबार

हिमपातले लिमी प्राकृतिक बन्दाबन्दीमा

blog

हिमपात पछि प्राकृतिक बन्दाबन्दीमा परेको लिमीको हल्जी गाउँ । तस्बिर सौजन्य: पाल्जोर तामाङ

राजन रावत

हुम्ला, माघ १४ गते । हिमालपारिको गाउँ लिमी प्राकृतिक बन्दाबन्दीमा परेको छ । लिमी जाने दुई वटै नाकाहरू बाक्लो हिमपातले बन्द हुम्ला अब लिमी आउजाउ पूर्ण रूपमा बन्द भएकोले लकडाउन जस्तै भएको हो ।

लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले लिमी उपत्यका प्राकृतिक बन्दाबन्दीमा परेको बताउनुभयो । नेपाल टेलिकमको टावरले काम गरी रहेको कारण सञ्चार सम्पर्क भने हुने गरेको छ । असोजमा परेको हिउँले गर्दा न्यालु नाका बन्द भएकोमा नारा नाकाबाट लिमीका स्थानीयले आउजाउ गरी रहेको भए पनि अब यस पटकको हिमपातले लिमी आउजाउ पूर्ण रूपमा बन्द भएको बताउनुभयो ।

चार हजार छ सय मिटर अग्लो नारा लेकमा चार फिट  र पाँच हजार मिटर अग्लो न्यालु लेकमा साँढे चार फिट हिउँ जमेको कारण लिमी पूर्ण रूपमा बन्दाबन्दीमा परेको हो । उहाँले यति बेला लिमीका एक गाउँबाट अर्बो गाउँमा आउजाउ गर्न समेत समस्या हुने गरेको बताउनुभयो । अब कोही बाहिरको मानिस लिमी जान नसक्ने र लिमीका स्थानीय पनि लिमी बाहिर आउन नसक्ने अवस्था रहेको छ । लिमीमा कोही जटिल अवस्थाका बिरामी परे हेलिकोप्टर रिजर्भ गर्नुको अन्य विकल्प छैन । स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नभएको हुँदा सामान्य बिरामीले भने लामासँग उपचार गर्नु पर्ने अवस्था रहेको छ । 

लिमीको तापक्रम माइनस २२ डिग्री सेल्सियस

हिमालपारिको लिमीको तापक्रम यति बेला माइनस २२ डिग्री सेल्सियस पुगेको छ । हिउँदको समयमा अधिकांश समय माइनस तापक्रम हुने लिमीमा दुई दिन लगातार हिमपात हुँदा माइनस तापक्रम निक्कै वृद्धि भएको हो । नाम्खा गाउँपालिका– ६ को लिमीको हल्जी गाउँका खेण्डाप तामाङले हिमपात पछि तापक्रम माइनस २२ डिग्री सेल्सियस पुगेको बताउनुभयो । उहाँले माइनस तापक्रम वृद्धि भएपछि चिसो निक्कै बढेको बताउँदै हिउँ नपरेको बेला माइनस बीस डिग्री सेल्सियस रहेकोमा हिमपात पछि त्यो तापक्रम वृद्धि भएको बताउनुभयो ।

दिउँसो घाम लागेको बेला केही घटे पनि बिहान, बेलुका र राती भने अत्यधिक चिसो हुने बताउँदै उहाँले सेताम्मे लिमी उपत्यकामा जनजीवन कष्टकर भएको बताउनुभयो । चिसो निक्कै बढेपछि लिमीका स्थानीयलाई खानेपानीको धारामा बरफ जमेको कारण आँगनमा जमेको हिउँ पगालेर पानीको व्यवस्था गर्नु परि रहेको छ । यो समस्या लिमीका तीन गाउँ तील, हल्जी र जाङमा उस्तै रहेको छ । तीन फिट भन्दा बढी हिउँ जमेको कारण स्थानीयलाई एक घरबाट अर्को घरमा जान पनि समस्या हुने गरेको छ । त्यसैसरि चौरी गाईलाई पनि चरन समस्या हुने गरेको छ ।