• १५ चैत २०८०, बिहिबार

कराते विवाद समाधानतर्फ : लामाको नेतृत्वमा महासङ्घ

blog

नेपाल कराते महासंघको तदर्थ समितिका अध्यक्ष युवरान लामा । तस्बिर : राखेप

काठमाडौं, माघ १२ गते । लामो समयदेखि नेपाल कराते महासङ्घमा देखिएको विवाद समाधान उन्मुख भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बिहीबार करातेका संस्थापक मध्येका एक युवराज लामाको अध्यक्षतामा नेपाल कराते महासङ्घ केन्द्रीय कार्यसमितिको तदर्थ समिति गठन गरेपछि विवादले समाधानको रूप लिएको हो ।

तदर्थ समितिमा महासङ्घमा यसअघि राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यताको आधारमा विवाद गर्दै आएका दावा गुरुङ र पूरेन्द्रविक्रम लाखेको समितिमा रहेका पदाधिकारीलाई समेटिएको छ । राखेपमा पूर्व सदस्य सचिव समेत रहनुभएका लामाको अध्यक्षतामा २१ सदस्यीय केन्द्रीय कार्य समिति गठन गरिएको हो । 

यसैगरी उपाध्यक्षमा पुरेन्द्रविक्रम लाखे, महासचिवमा हरिशरण केसी, सहमहासचिवमा ओमकृष्ण प्रसाईँ, सचिवमा श्याम शेर्पा र विआर मित्र तथा कोषाध्यक्षमा सानुलाल श्रेष्ठ रहेका हुनुहुन्छ ।सदस्यहरूमा राजेन्द्र बराल, देव लामा, मजेन्द्र सिंह, नारायणबहादुर मगर, यादव काफ्ले, ध्वजमान मोक्तान, निवासगोपाल वैद्य, ध्रुवविक्रम मल्ल, तारा वली, दुर्गागाैतम परियार, रवि महर्जन, डोल्मा लामा शाह र किशोरप्रसाद भट्टराई रहनुभएको छ ।

पदाधिकारीहरूलाई राखेपका सदस्यसचिव टङ्कलाल घिसिङले बिहीबार नै एक कार्यक्रमबीच मनोनयन पत्र हस्तान्तरण गर्नुभएको थियो । महासङ्घले ३ महिना भित्र विधान मस्यौदा तयार गरी राखेपबाट स्वीकृत गराई साधारण सभा तथा निर्वाचन गर्नुपर्ने उल्लेख छ ।

अघिल्लो तदर्थ समितिका अध्यक्ष शम्भु आचार्यलाई २०७५ फागुन १४ गते ३ महिनाभित्र महासङ्घको विधान संशोधन गरी निर्वाचन गर्ने गरी तदर्थ समिति गठन गरिएकोमा जिम्मेवारी प्रदान गरिएको ४ वर्षसम्म उक्त समितिले महासङ्घको विधान संशोधन तथा निर्वाचन समेत गर्न नसकेको राखेपले जनाएको छ । 

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्यसचिव घिसिङले ऐतिहासिक आवश्यकताका हिसाबले लामालाई अध्यक्षको जिम्मेवारी दिइएको बताउँदै गौरवपूर्ण इतिहास बोकेको कारातेलाई गति दिनु पर्ने बताउनुभयो । 

अध्यक्ष लामाले संस्था र खेलाडीको हितलाई ध्यानमा राखेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै परिषद्ले दिएको ३ महिनाभन्दा धेरै अगाडि निर्विवाद रूपमा चुनाव सम्पन्न गर्ने वाचा पनि गर्नुभयो । लामाले आस्था र फरक खालका कराते कसैलाई पनि निषेध नगर्ने बताउँदै कार्यसमितिका प्रत्येकले काम गर्ने अवसर प्राप्त गर्ने बताउनुभयो । 

सहअध्यक्ष गुरुङले सम्बन्धित विज्ञले सम्बन्धित संस्थाको नेतृत्व गरे मात्र संस्थाको विकास हुने मान्यतालाई आत्मसात् गरी अध्यक्ष हुँदा हुँदै पनि स्थायित्वका लागि खुसी साथ अध्यक्षको पद छाडेको बताउनुभयो । उहाँले विभिन्न बहानामा खेल संस्थालाई बन्धक बनाउन नहुने समेत बताउनुभयो ।