• १६ चैत २०८०, शुक्रबार

ढुवानी नहुनाले सडकका खाल्डाखुल्डी पुर्न समस्या

blog

काठमाडाैँ, माघ ११ गते । खाल्डाखुल्डी १५ दिनभित्र पुर्न उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले निर्देशन दिनुभए पनि निर्धारित समयमा खाल्डाखुल्डी पुर्न नसकिने सडक डिभिजन कार्यालय, काठमाडौंले जनाएको छ ।

डिभिजनका प्रवक्ता सुनित केसीकाअनुसार मन्त्रीले दिएको निर्देशन बमोजिमको कार्यतालिका तय गरिए पनि खाल्डाखुल्डी सबै पुर्न भने नसकिने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “निर्देशन दिएबमोजिमको १५ दिनको कार्यतालिका हामीले मन्त्रीसमक्ष पेस गरेका छौँ । तर काम गर्ने क्षमता नै कम भएका कारण काममा केही ढिलाइ भएको हो । ” अवैध उद्योग बन्द गर्ने सरकारको निर्णयले काममा केही बाधा पुगेको उहाँको भनाइ छ ।

अवैध क्रसिङ् उद्योगहरू बन्द गर्न गृह मन्त्रालयले पुस २० गते सबै जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गर्दै अवैध क्रसिङ् उद्योगहरू बन्द गर्न आग्रह गरेको थियो । त्यसपछि व्यवसायीले ढुवानी नै रोकेका छन् । केसीका अनुसार बाटो पिच गर्नका लागि चाहिने बालुवा, गिट्टी , रोडा नै व्ययवासीले ढुवानी नगरिदिएकाले काममा ढिलाइ भएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “अवैध क्रसिङ् उद्योगहरू बन्द गर्न लगाएसँगै व्यवसायीहरूले गिट्टी, बालुवा र रोडाको ढुवानी रोकेका कारण सामग्रीको अभाव भएर कम सुस्ताएको छ ।”

अहिले दैनिक दुई सिफ्टमा काम भइरहेको पनि उहाँको भनाइ छ । तर, खाल्डाखुल्डी पुर्नका लागि बालुवा, गिट्टीको अभाव भएकाले काममा सुस्तता आएको उहाँले स्विकार्नुभयो । अहिले काठमाडौंको कोर एरिया भित्र खाल्डाखुल्डी पुर्ने काम भइरहेको उहाँले बताउनुभयो ।

कतिपय सडकहरूमा विद्युतका तार, खानेपानीका पाइप तथा ढलका पाइपहरू बिछ्याउन सडक खन्ने र राम्नेसँग नपुरे छाडिदिनाले पनि काममा बाधा भइहरहेकाे उहाँको भनाइ छ ।

यस्तै, बिग्रिएका सडकहरू डिभिजन कार्यालय काठमाडौंकाे क्षमताले नभ्याउने भएकाले ठेक्का समेत लगाएको छ । डिभिजन कार्यालयको क्षमताले नभ्याउने बालाजु–सोह्रखुट्टे सडकको ठेक्का समेत लागेको उहाँ बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “केही सडकहरू मर्मतका लागि हामीसँग भएको क्षमताले भ्याउँदैन त्यसकारण ठेक्का नै लगाउनुपर्छ । बालाजु सोह्रखुट्टे सडकमा हामीले ठेक्का नै लगाएका छौँ । सम्झौता पनि भइसकेको छ । अहिले जाडोको समय भएकाले सडक पिच गर्न मिलेको छैन, अन्तिम माघबाट काम सुरु हुन्छ ।”

यस्तै, डिभिजन कार्यालयले सडकमा मेटिएका जेब्रा क्रसिङ्गमा रंगराेगन लगाउने जनाएको छ । धेरै ठाउँहरूमा जेब्राक्रसिङ् मेटिएको र यात्रुलाई सडक वारपार गर्न नै समस्या भएकाले मेटिएका जेब्रा क्रसिङ्गकाे रेखाङ्कन गर्न लागिएको उहाँको भनाइ छ ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।