• १६ चैत २०८०, शुक्रबार

कविता

blog

सुख हो कविता, दुःख हो कविता 

कविका मनको बह हो कविता ।

रस मिश्रित भाष्य न हो कविता 

हुन  पद्य र  गद्य दुवै  कविता  ।।


भव हो कविता नभ हो कविता 

दिलको उद्गार न हो कविता ।

कविका सिर्जना रचना  कविता,

प्रतिविम्ब र विम्ब न हो कविता 


कहीँ प्रश्न न हो कहीँ उत्तर हो,

बुझ गन्थन मन्थन हो कविको ।

रस भाव कला सब मिश्रण हो,

भव सागरको गहिरो कल हो ।।


सुर ताल मिले लयमा बहने,

गण अक्षरको पनि अर्थ हुने ।

घटनाहरूको समवेग न हो,

सिर्जनात्मक सीप कला कविको 


अलकापुरीको जल निर्मल हो

सतसङ्ग बुझे भजनै शिवको ।

वन माहुरीको रसझैँ कविको

कविता कविको बुझ सिर्जन हो ।। 


धनगढी