• १० मंसिर २०८१, सोमबार

मौर्यकालीन सामग्रीको महत्त्व

blog

नेपाल प्राचीन कालदेखि नै धार्मिक, सांस्कृतिक तथा व्यापारिक केन्द्रका रूपमा परिचित रहेको इतिहास छ । यस सम्बन्धमा बेलाबेलामा हुने उत्खननबाट प्राप्त वस्तुले पुष्टि गर्दै आएको छ । शिलालेख, अभिलेख तथा प्राप्त ऐतिहासिक वस्तुको ऐतिहासिक तथ्यले यसमा थप पुष्ट्याइँ गरिरहेको हुन्छ । ऐतिहासिक कालमा नेपाल समृद्ध देखिन्छ । यसको वैभव तथा समृद्धिको जानकारी मठ, मन्दिर र तिनमा विद्यमान वास्तु अध्ययनका विषय हुन गएका छन् । काठमाडौँ बाहिरसमेत अनेक सहर र तिनको वास्तुकलाले नेपालको विस्तार र वैभवको अध्ययन गर्नेहरूलाई अनेक खुराक दिइरहेको छ । काठमाडौँ उपत्यका बाहिरको कुरा गर्दा लुम्बिनी क्षेत्रको विशिष्ट महत्त्व रहेको छ । यसको ऐतिहासिक महत्त्व साढे दुई शताब्दीदेखि निरन्तर छ । उत्खननबाट प्राप्त ऐतिहासिक सरसामग्रीका दृष्टिबाट यो क्षेत्रको महत्त्व अग्रस्थानमा पर्छ । यहाँ भएका उत्खननले विभिन्न तथ्य सामुन्ने ल्याउने गरेको छ । तिनको पुरातात्त्विक महत्त्व उच्च छ । यसै सन्दर्भमा हालैको उत्खननले निकै महत्त्वपूर्ण स्थान ओगटेको छ । 

पछिल्लो चरणमा राजा शुद्धोधनको राजदरबार एवं सिद्धार्थ गौतमले आफ्नो जीवनकालका प्रारम्भिक २९ वर्ष बिताएका ठाउँ तिलौराकोटमा मौर्यकालीन पञ्चमार्क मुद्रासहित थप पुरातात्त्विक सामग्री फेला परेको तथ्य सार्वजनिक भएको छ । बेलायतको दुरह्याम विश्वविद्यालय, युनेस्कोको जापानीज फन्ड, लुम्बिनी विकास कोषलगायतको समन्वय तथा सहकार्यमा भएको उत्खनन तथा भूभौतिक सर्वेक्षणमा विभिन्न ऐतिहासिक सामग्री प्राप्त भएका छन् । तामाका अभिलेखसहितका मुद्रा, नारीका प्रतिमा, पाषाण तीर, लोहोरो, सिलौटो, पोखरी, इँटालगायतका सामग्री फेला परेका छन् । ती सबै सामग्री त्यसबेलाको समाज अध्ययनमा उच्च महत्त्वका रहेका छन् । उत्खननबाट प्राप्त यी सामग्रीको रेडियो कार्बनका माध्यमबाट तिथि मिति निर्धारण गरिँदा मौर्यकालीन समयमा निर्माण भएको प्रमाणित भएको छ । यसरी मौर्यकालीन सामग्री फेला पर्नुले लुम्बिनी क्षेत्रको ऐतिहासिक महत्त्वमा थप अभिवृद्धि भएको छ । 

लुम्बिनी भगवान् बुद्धको पावन जन्मस्थलका रूपमा विश्वप्रसिद्ध रहेको छ । मौर्यकालीन मुद्रालगायतका सामग्री प्राप्त भएका सन्दर्भमा सो क्षेत्र इसापूर्वअगावै व्यापारिक केन्द्रका रूपमा समेत विकसित भइसकेको तथ्य सामुन्ने आएको छ । यस तथ्यबाट सो क्षेत्र व्यापारिक दृष्टिकोणबाट समेत अग्रस्थानमा रहेको अनुमान गर्न सकिन्छ । साथै यस तथ्यबाट नेपालमा मुद्राको प्रचलन इसापूर्व कालदेखि नै रहेको मान्न सकिने आधारसमेत तयार भएको छ । नेपाल सभ्यताको अवस्था के कस्तो रहेछ भन्ने सन्दर्भमा यो असाध्यै महत्त्वपूर्ण विषय हो । नेपालमै त्यस समयमा बनेका मुद्राबारे आधिकारिक जानकारी नभए पनि काठमाडौंँ उपत्यकालगायतका क्षेत्रमा समेत मौर्यकालीन मुद्राको प्राप्तिले नेपाल सो कालदेखि नै व्यापारिक केन्द्र रहेको अनुमान गर्न सकिन्छ । कतिपय पुरातत्त्वविद्ले यही तथ्यलाई आधार मान्दै भारतीय भूभागबाट व्यापारको सिलसिलामा यी मुद्रा नेपाल आएको धारणा राखेको पाइन्छ तर यसमा अझै गहन अध्ययनको खाँचो छ ।

भौगर्भिक उत्खननका दृष्टिबाट लुम्बिनी, तिलौराकोटलगायत आसपासका क्षेत्रमा निकै कार्य गर्न बाँकी रहेको देखिन्छ । यसर्थ लुम्बिनी क्षेत्रको भौगर्भिक उत्खननलाई निरन्तरता दिइराख्नु आवश्यक छ । ऐतिहासिक क्षेत्रका उत्खननले विभिन्न ऐतिहासिक तथ्यको पुष्ट्याइँ गर्ने आधार तयार हुन्छन् । नेपालका कतिपय महत्त्वपूर्ण ऐतिहासिक तथा धार्मिक स्थलको अझै पनि भौगर्भिक उत्खनन सम्भव हुन सकेको छैन र थुप्रै ऐतिहासिक प्रमाण भूगर्भमा नै लुप्त छन् । लुम्बिनी, काठमाडौँ उपत्यकालगायतका मुलुकका विभिन्न स्थानमा भौगर्भिक उत्खनन गर्न सकिए अनेक महत्त्वपूर्ण ऐतिहासिक तथ्य सार्वजनिक हुन सक्नेछ । यस्ता भौगर्भिक उत्खननमा आर्थिक स्रोतको समेत ठूलो लगानी गर्नुपर्ने हुन्छ, जुन नेपाल आफैँले मात्र गर्न सक्ने अवस्था छैन । यस अवस्थामा सम्बद्ध पक्षले युनेस्कोलगायतका विभिन्न कोषको सहकार्यमा भौगर्भिक उत्खननमा जोड दिनु आवश्यक देखिन्छ । यस्ता उत्खननमा समग्रमा मानव सभ्यता तथा संस्कृतिका सम्बन्धमा जानकारी प्राप्त हुने भएकाले यो कार्य कुनै एक देशको मात्र दायित्व नभएर समग्रमा अन्तर्राष्ट्रिय समुदायको जिम्मेवारी पनि हो । मानव सम्भयताको लामो अध्ययन र अनुसन्धान ज्ञान निर्माण गर्ने महत्त्वपूर्ण माध्यमसमेत हो । प्राज्ञिक ज्ञानसँगै सभ्यता, समाज र संस्कृतिको विस्तृत अध्ययनले नेपालको प्राचीन महत्त्व विश्वभर विस्तार हुन सहयोग पुग्ने देखिन्छ ।