रमेश विश्वकर्मा
गुल्मी, माघ १० गते । नेपाली कांग्रेस गुल्मीले जिल्लाका सबै तहमा सम्मेलन गर्ने भएको छ । मङ्गलबार जिल्ला पार्टी कार्यालय बीपी स्मृति भवनमा बसेको जिल्ला कार्यसमितिको आठौँ बैठकले सबै स्थानीय तह र सम्पर्क समितिका नियमित सम्मेलन गर्ने निर्णय गरेको हो ।
जिल्ला सभापति खिलध्वज पन्थीको सभापतित्वमा बसेको बैठकमा प्रदेशसभा र प्रतिनिधि सभाको हालै सम्पन्न निर्वाचनका विषयमा समीक्षा गरिएको थियो । बैठकमा आएका विचार र सुझाव सल्लाहका साथै प्रदेशसभा र सङ्घीय सभाको निर्वाचनमा सक्रिय सहभागी भई गठबन्धनलाई सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिइएको थियो ।
पार्टी सङ्गठनको हालसम्मको अवस्थाको विषयमा पार्टी सचिव भगतसिंह खडकाले जानकारी गराउनुभयो । सम्पन्न निर्वाचनको बुँदागत समीक्षा, गठबन्धनको प्रभावकारिताका साथै मुलुकको वर्तमान राजनीतिक अवस्था, पार्टीका तर्फबाट केन्द्र र प्रदेश सरकारका काम जनताको पक्षमा भए नभएको सूक्ष्म अध्ययन गर्ने कार्यलाई अगाडि बढाउँदै सङ्गठनका हरेक गतिविधिलाई जनउपयोगी बनाएर अगाडि बढ्ने जस्ता महत्त्वपूर्ण निर्णय गरिएको पार्टी सचिव जगदीश भट्टराईले जानकारी दिनुभयो ।