लीलाराज खड्का
बिर्तामोड, माघ १० गते । झापाको कचनकवल गाउँपालिकामा एउटै पासो लगाई दुई युवायुवतीले झुन्डिएर आत्महत्या गरेका छन् । यसअघि साउनमा कचनकवल –५ स्थित दल्लेगाउँमा तीनजना किशोरीहरूले झुन्डिएर आत्महत्या गरेका थिए ।
कचनकवल गाउँपालिका वडा नं. ४ केचनाको खुट्टामुनिमा रहेको एभरेष्ट चिया बगानमा सिरिसको रुखमा पासो लगाई स्थानीय २५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्रा राजवंशीले आत्महत्या गरेका हुन् ।
उनीहरूले माछा मार्ने नाइनलको जालको डोरी बनाई पासो लागेको गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले बताउनुभयो । युवतीलाई सिँदुरपोते लगाइदिएर उनीहरू झुन्डिएका हुन् ।
ती युवती गणेशको घरमा करिब ५ वर्ष सँगै बसेकी थिइन् । गत वर्ष उनीहरूले भागी विवाह गरेका थिए । तर, युवतीका अभिभावकले छोरी नाबालिका भएको भन्दै आफ्नो घर फर्काएको उपाध्यक्ष भट्टराईले बताउनुभयो ।
शव अहिले पोस्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुरमा लगिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्त पाठकले बताउनुभयो ।