• ११ मंसिर २०८१, मङ्गलबार

इस्टोनियाद्वारा रुसी राजदूत निष्कासित

blog

टालिन, माघ १० गते । इस्टोनियाले रुसी राजदूतलाई निष्कासन गरेको छ । रुसले इस्टोनियाली राजदूतलाई निष्कासन गरेको बदलामा इस्टोनियाले त्यसो गरेको हो । रुसी पक्षको निर्णयको प्रतिक्रियास्वरूप एस्टोनियाले पनि रुसी राजदूतलाई देश छाड्न आग्रह गरेको इस्टोनियाका विदेशमन्त्री उर्मास रेइन्सालुले बताउनुभएको छ ।

रुसले इस्टोनियाली राजदूतलाई निष्कासन गर्दै इस्टोनियाको कूटनीतिक प्रतिनिधित्वलाई राजदूतभन्दा तल्लो तहमा झारेको घोषणा सोमबार गरेको थियो । विदेशमन्त्री रेइन्सालुले समानताको सिद्धान्तमा इस्टोनियाका लागि रुसका राजदूतले यही माघ २४ गते स्वदेश फर्कने जानकारी दिनुभयो ।     

साथै इस्टोनियाले रुसलाई तालिनमा रहेको आफ्नो दूतावासमा कूटनीतिक कर्मचारीको सङ्ख्या यही माघ १ गतेदेखि आठमा सीमित गर्न आदेश दिएको छ । मस्कोमा पनि आठ जनामात्र इस्टोनियाली कूटनीतिज्ञ रहने तालिनले स्पष्ट गरेको छ ।     

यसैबीच, छिमेकी इस्टोनियासँग ऐक्यबद्धता जनाउँदै लात्भियाले पनि रुसबाट आफ्नो राजदूत फिर्ता बोलाएको छ । लात्भियाका विदेशमन्त्री एडगरस रिन्केभिक्सले आफ्नो देशले र रुससँगको कूटनीतिक सम्बन्धलाई यही माघ २४ गतेदेखि लागू हुनेगरी राजदूतभन्दा एक तहमुनिको कूटनीतिक कर्मचारीको स्तरमा झारेको बताउनुभएको छ ।  –रासस / सिन्ह्वा