• १२ मंसिर २०८१, बुधबार

बृहत्तर बुटवल निर्माण गर्न ध्यानाकर्षण

blog

बुटवल समाचारदाता

बुटवल, माघ १० गते । पश्चिम नवलपरासीको बर्दघाटदेखि पश्चिम कपिलवस्तुको चन्द्रौटासम्मको भूभाग जोडेर बृहत्तर बुटवल निर्माण गर्न लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको ध्यानाकर्षण गरिएको छ। 

बुटवलको विकासका लागि आगामी दिनमा गर्नुपर्ने कामको विषय समेटेर नेपाल कम्युनिस्ट पार्टी (एमाले) बुटवल उपमहानगर कमिटीले मुख्यमन्त्री लीला गिरीलाई ध्यानाकर्षणपत्र बुझाएको हो। नेकपा (एमाले) बुटवल उपमहानगर कमिटीले बुटवललाई सबल आर्थिक केन्द्रसहितको बृहत्तर बुटवल निर्माण गर्ने गरी योजनाबद्ध विकास गर्न मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको जनाएको छ। त्यसका लागि पश्चिम नवलपरासीको बर्दघाटदेखि कपिलवस्तुको चन्द्रौटासम्मको भाग समेटेर बृहत्तर बुटवल निर्माण गर्नुपर्ने ध्यानाकर्षणमा उल्लेख छ।

ध्यानाकर्षणपत्रमा तिनाउ–दानव कोरिडोर निर्माणको काम सङ्घीय सरकारसँगको सहकार्यमा सम्पन्न गर्नुपर्ने, बाढीपहिरो, आगलागी तथा विविध कारणले विस्थापित भएका जनतालाई पुनस्र्थापित गर्न मुख्यमन्त्रीलाई सुझाव दिइएको छ। 

त्यसैगरी बुटवल चक्रपथ, जितगढी किल्लाको गुरुयोजना, जितगढी (बटौली) युद्ध सङ्ग्रहालय, आधुनिक वधशाला, ढुवानीग्राम, बैठौलिया कपरकट्टी ताल, नरैनापुर धाम, थारू सांस्कृतिक ग्राम तथा सङ्ग्रहालय, खुला मञ्च निर्माण तथा हिलपार्कमा बिग बुद्ध निर्माणलगायतका योजना सम्पन्न गर्न आवश्यक बजेटसहितका काम गर्नुपर्ने सुझावसहित पेस गरिएको छ। 

एमाले बुटवल उपमहानगर कमिटीका अध्यक्ष किसन ज्ञवालीले बुटवलमा रहेको मणिमुकुन्द सेन पार्क, रामपिथेकस पार्क, लक्ष्मी पार्क, जेबी पार्क, इको टुरिजम पार्कलगायत विभिन्न पार्कको गुरुयोजनाअनुरूप बाँकी रहेका काम सम्पन्न गर्न, सामुदायिक वनमा निर्माण भएका पर्यापर्यटन गुरुयोजना कार्यान्वयनमा ल्याउन मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको बताउनुभयो। 

उहाँले उजिरसिंह जवई फुटबल रङ्गशाला निर्माणलगायतका खेलकुदका संरचना निर्माण गर्ने कामलाई प्राथमिकताका साथ अगाडि बढाउन, पुरानो बटौली बजार क्षेत्रलाई सम्पदा बस्तीका रूपमा विकास गर्न पनि माग गरिएको बताउनुभयो। त्यस्तै मुख्यमन्त्रीलाई मैैनाबगर अटो भिलेजको आधुनिकीकरण गर्नुपर्ने, बुटवलको बस टर्मिनल भवनलाई आधुनिक सिटी टर्मिनलमा स्तरोन्नति गर्दै बुटवल औद्योगिक क्षेत्रको पूर्वतर्फ आधुनिक र सुविधासम्पन्न बसपार्क निर्माण गर्नुपर्ने, सङ्घीय सरकारसँगको सहकार्यमा सैनामैनामा निर्माणाधीन बुटवल–सैनामैना–कञ्चन फोहोरमैला प्रशोधन केन्द्र, कर्साघाटमा निर्माण हुने भनिएको बृहत् कृषि उपज केन्द्रलगायतका आयोजना अगाडि बढाउनुपर्ने, मोतीपुर औद्योगिक कोरिडोर निर्माणको काम सुरु गर्नुपर्ने सुझाव पनि दिइएको छ।

एमाले बुटवल उपमहानगर कमिटीले बुझाएको ध्यानाकर्षणपत्रपछि बोल्दै मुख्यमन्त्री लीला गिरीले सबैको साझा पहल र छलफलको माध्यमबाट अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।