• ११ पुस २०८२, शुक्रबार

सहकारीमार्फत आर्थिक रुपान्तरणमा जोडिँदै महिला

blog

साधारण सभामा उत्कृष्ट बाख्रा पाल्ने शेयर सदस्य सम्मान गरिदैँ । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा (गुल्मी), पुस ११ गते ।
भविष्य निर्माण साना किसान कृषि सहकारी संस्था लिमिटेड इस्मा गाउँपालिका–४ दोहलीमा सात वर्षको अवधीमा ७८० महिला आवद्ध भएका छन् । २०७५ साल जेठ १७ गते स्थापना भएको सहकारीमा बर्सेनी शेयर सदस्य थपिन्छन् ।

महिलालाई एकीकृत गरेर आर्थिक तथा सामाजिक सशक्तिकरण गर्ने उद्देश्यले सहकारी स्थापना भएको हो । यो सहकारीले सातौ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सहकारीका सल्लाहकार समिति संयोजन राजु बस्नेतले सभाको उद्घाटन गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले आफ्नो लागनीको निगरानी स्वय शेयरधनीले गर्नुपर्ने बताउनुभयो । उहाँले अहिलेसम्मको अवस्थामा संस्थाले निकै राम्रा कामहरु गरिरहेकाले ढुक्क बनेर लगानी गर्ने र लगानीको सदुपयोगको विषयमा दुवै पक्ष गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो ।

सहकारीले शेयर सदस्यहरुबाट बचत सङ्गलन गरेर कृषि, पशुपालन, उद्योग र स–सानो आयआर्जनका काममा लगानी गर्दै आएको भविष्य निर्माण साना किसान कृषि सहकारी संस्था लिमिटेड इस्मा गाउँपालिका–४ दोहलीको अध्यक्ष सीता अर्यालले बताउनुभयो । अर्यालका अनुसार शेयर सदस्यहरुलाई बीउ, मल, प्रविधि र सशक्तिकरणका कार्यक्रमहरु गर्ने गरिएको छ । 

आगामी वर्ष भवन निर्माणलाई जोड दिने, जनशक्ति व्यवस्थापन गर्ने, शेयर सदस्य वृद्धि, निक्षेप, लगानी र असुली बढाउने, एक घर एक सदस्य अभियानलाई प्रभावकारी बनाउने योजना रहेको अर्यालले बताउनुभयो ।

आर्थिक वर्ष २०८१/०८२ मा संस्था सम्मानित, सुत्केरी पोषण वितरण, वित्तीय सुशासन तालिम, युरिया र डिएपी वितरण, मृत्यु राहात कोष वितरण, जग्गा प्राप्ति, उद्घोषण तालिम, बाख्राको दाना वितरण तथा म्यादी जीवन बिमालगायतका कार्यक्रम गरिएको अर्यालले जानकारी दिनुभयो । कार्यक्रममा संस्थाका सल्लाहकार सदस्य रामु कार्की, सीता विक, मुना घर्ति, लेखा समिति सदस्य फुलमाया बस्नेतलगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

त्यस्तै, संस्थाको अध्यक्ष सीता अर्यालको वार्षिक प्रगती प्रतिवेदन र लेखा समिति संयोजक सीता घतिद्वारा प्रस्तुत संस्थाको लेखा प्रतिवेदन साधारण सभाले पारित गरेको छ । कार्यक्रम भविष्य निर्माण साना किसान कृषि सहकारी संस्था लिमिटेड इस्मा गाउँपालिका–४, दोहलीको अध्यक्ष सीता अर्यालको अध्यक्षता, उपाध्यक्ष हुमकला जिसीको स्वागत तथा संस्थाको प्रबन्धक गिता बस्नेतको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा उत्कृष्ट बचतकर्ता सदस्यको रुपमा मनिला खड्का, उत्कृष्ट बाख्रापालक सदस्यहरु जानकी खनाल, मसुरी थापा, संगीता अधिकारी र पुनकला फुल्देल, ज्येष्ठ बचतकर्ता सदस्य महलाल बस्नेत, उद्यमी नर्मा पल्ली, रुकमाया गुरुङ्ग र गायत्री थापालाई सम्मान गरिएको छ । उत्कृष्ट भैंसीपालक सदस्य ज्ञानी घर्तिलाई सहकारीले नगद र प्रमाणपत्रसहित सम्मान गरेको संस्थाको प्रबन्धक गिता बस्नेतले जानकारी दिनुभयो । अहिले संस्थाको शेयर पुँजी ३२ लाख ६६ हजार पुगेको छ ।

निक्षेप भित्र नौ प्रकारका बचत रहेका छन् । अहिले निक्षेप दुई करोड ९२ लाख १५ हजार नौ रुपियाँ रहेको व्यावस्थापक बस्नेतले बताउनभुयो । अहिले संस्थाले तीन करोड ५३ लाख ३३ हजार २१८ रुपियाँ लगानी गरेको छ । आर्थिक वर्ष २०८१/०८२ मा संस्थाले २१ लाख १६ हजार १३३ रुपियाँ नाफा कमाएको छ ।